काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले स्वर्ण उत्सव मनाएको छ। असार १३ गते नेपाल उद्योग वाण्ज्यि महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा नाडाले स्वर्ण उत्सव मनाएको हो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको हो। २०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले आफ्नोे ५०औँ वर्षकोे अवशरमा विभिन्न कार्यक्रमहरुसहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको थियो।
नाडाले आफ्नो ऐतिहासिक स्वर्ण उत्सवलाई सम्झनायोग्य बनाउन दशरथ रंशाला त्रिपुरेश्वरदेखि होटेल याक एण्ड यति दरबारमार्गसम्म विभिन्न विशिष्ट व्यक्तित्वहरु, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नाडाका पूर्वअध्यक्षहरु, नाडाका सम्पूर्ण सदस्य कम्पनीहरुको सहभागितामा वाकाथन कार्यक्रम समेतको आयोजना गरेको हो।
यसै स्वर्ण उत्सवको अवसरमा नाडाले आफ्ना पूर्वअध्यक्षहरुलाई विशेष सम्मानसमेत गरेको छ। यो स्वर्ण उत्सव समारोह मिति २०८३ असार १३ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित राजधानी र ७ वटै प्रदेशहरुमा सम्पन्न हुने छन्।
यो ५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व गरिसकेका छन्। त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औँ संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री र ५१औँ संस्करणको नाडा अटो न्यूज समेत प्रकाशित गरिसकेको छ।
त्यस्तै अहिलेसम्म १८औँ संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भाद्र महिनामा १८औँ संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको छ। नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संघहरु मध्ये सो महासंघबाट उत्कृष्ट वस्तुगत एशोसिएसनको पुरस्कारबाट पटक पटक सम्मानित भइसकेको छ।
नाडा सन् २०१५ देखि आएसओ सर्टिफाइड संस्थाको रुपमा स्थापित रहेको छ। त्यसैगरी नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरु सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिहरुमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।