शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

खाडीबाट फर्केर गाईपालन : मासिक  दुई लाख आम्दानी

शनिबार, असार १३ २०८३
खाडीबाट फर्केर गाईपालन : मासिक  दुई लाख आम्दानी

पछिल्लो पटक १५ लाख रुपैयाँ लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थाल्नुभएका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताए। उनले दूध बिक्रीबाट वार्षिक २४ लाखभन्दा बढी आम्दानी हुने गरेको बताए।

पर्वत- रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गर्नुभएका पर्वतका एक युवाले मासिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। 

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी छ। उनले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिए। “गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ”, उनले भए।

पछिल्लो पटक १५ लाख रुपैयाँ लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थाल्नुभएका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताए। उनले दूध बिक्रीबाट वार्षिक २४ लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। 

उनले दानापानी, घाँस, परालका लागि मासिक रु ६० हजार खर्च हुने गरेको बताउँदै खर्च कटाएर वार्षिक १७ लाखदेखि १८ लाखसम्म बचत गर्ने गरेको जानकारी दिए। उनका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको संगम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको संकलन केन्द्रमा बिक्री हुँदै आएको छ। 

सहकारीले प्रतिलिटर गुणस्तरका आधारमा न्यूनतम ९६ देखि ११० रुपैयाँसम्म रकम किसानलाई भुक्तानी दिने गरेको जिसीले उल्लेख गरे। घरबाटै बिक्री गरी पर्याप्त मूल्यसमेत पाउने भएकाले व्यवसायमा सोचेभन्दा बढी सफलता पाएको उनको भनाइ छ। “नजिकैको सहकारीमा बिक्री हुने भएकाले बजारीकरणको समस्या पनि छैन, गुणस्तरका आधारमा मूल्य निर्धारण हुने भएकाले ढुक्क छु”, उनले भने।

जीसीले एकीकृत विकास कार्यालय र गाउँपालिकाको कार्यालय दुवै स्थानमा फार्म दर्ता गरेर सञ्चालन गर्दै आएको जानकारी दिए। गाईवस्तुका लागि दानापानी आफैँ तयार गर्ने, घाँसपराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्चसमेत कम हुने उनको अनुभव छ।

जीसीले आफ्नो फार्ममा परिवारका सदस्यले मात्र काम गर्दै आएका बताए। आफू, श्रीमती, छोराछोरीले नियमित रेखदेख गर्ने गरेको बताउँदै उनले हालसम्म बाहिरी कामदार राख्नु नपरेको उल्लेख गरे।  

भनेजस्तो कमाई भएपछि जीसी हौसिएका छन्। उनले यो व्यवसायलाई विस्तार गर्ने योजनासमेत बनाएका छन्। अब गोठ तथा अन्य संरचना विस्तार गरी गाईभैँसीको सङ्ख्या २० पुर्‍याउने योजना रहेको उनले बताए। जीसीले पालिका र जिल्लामा रहेको भेटेरीनरी अस्पतालले प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए।

यसबाहेक दूध ढुवानीमा प्रतिलिटर रु पाँच अनुदान पाउने भएपछि किसानलाई थप सहज भएको छ। आफूहरूलाई राज्यलेसमेत प्रोत्साहन गरेकाले यसतर्फ आकर्षण बढेको सञ्चालक जीसीले बताए। उनले आफूजस्तै विदेशमा गएर भौतारिने युवायुवतीलाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिए।

पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजारको अभाव नहुने बताउँदै जीसीले खाडी मुलुकमा पसिना बगाउनुभन्दा आधा कम कमाई भए पनि स्वदेशमै रमाउन आनन्द हुने अनुभव सुनाए। फर्से गाउँमा जिसी मात्र नभइ अन्य ३५ जना युवाले व्यवसायी गाईभैँसी पालन फार्म सञ्चालन गर्दै आएका छन्। 

यहाँको एउटै गाउँबाट दैनिक ८०० लिटर दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले जानकारी दिएको छ। कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर दूध ढुवानीमा रु पाँचका दरले अनुदान दिँदै आएको बताए। यसबाहेक भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध संकलनका लागि क्यानलगायत सामग्रीसमेत कार्यालयले सहयोग गर्दै आएको उनले बताए। रासस


प्रकाशित : शनिबार, असार १३ २०८३१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend