बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

जीवन बीमा कम्पनीहरूको व्यवसायमा सुधार, ११ महिनामा १ खर्ब ७३ अर्ब रुपैयाँ बीमा शुल्क संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ११ २०८३
जीवन बीमा कम्पनीहरूको व्यवसायमा सुधार, ११ महिनामा १ खर्ब ७३ अर्ब रुपैयाँ बीमा शुल्क संकलन

काठमाडौं- जीवन बीमा कम्पनीहरुको व्यवसायमा सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले १ करोड १७ लाख ३७ हजार २ सय ९८ वटा बीमालेख जारी गरी १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यो व्यवसाय गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १२.६२ प्रतिशतको वृद्धि हो। अवधिमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेका थिए।

यस अवधिमा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। नेपाल लाइफले आफ्नो व्यवसाय १२.५३ प्रतिशतले बढाएर ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ। कुल आम्दानीकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १७.४९ प्रतिशतको वृद्धिसहित २२ अर्ब २१ करोड रुपैयाँ र एलआईसी नेपालले ७.२० प्रतिशतको वृद्धिसहित १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय ३.७६ प्रतिशतले बढेर १५ अर्ब ७९ करोड रुपैयाँ पुग्दा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय १७.९३ प्रतिशतले बढेर १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

बजारका अन्य प्रतिस्पर्धी कम्पनीहरुमध्ये सूर्यज्योति लाइफले ११.२८ प्रतिशतको वृद्धिसहित १० अर्ब ५२ करोड, एशियन लाइफले १०.८६ प्रतिशतको बढाएर ८ अर्ब ७१ करोड र सानिमा रिलायन्स लाइफले १२.५६ प्रतिशतको वृद्धिसहित ६ अर्ब ६४ करोड रुपैयाँ संकलन गरेका छन्।

यो अवधिमा व्यवसाय वृद्धिदरको हिसाबले भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। जसको व्यवसाय बढेर ६ अर्ब १० करोड रुपैयाँ पुगेको छ। मेट लाइफको व्यवसाय पनि १०.१२ प्रतिशतले बढेर ६ अर्ब १० करोड रुपैयाँ पुग्दा रिलायबल नेपाल लाइफले १८.७३ प्रतिशतको वृद्धिसहित ५ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ।

साथै प्रभु महालक्ष्मी लाइफको व्यवसाय १४.८८ प्रतिशतले बढेर ५ अर्ब २२ करोड रुपैयाँ र सन नेपाल लाइफको व्यवसाय २.५९ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको देखिन्छ।

यसैगरी, लघु जीवन बीमा व्यवसायतर्फ सञ्चालनमा रहेका ३ कम्पनीहरुले समीक्षा अवधिमा कुल १ करोड ६६ लाख ५५ हजार ४ सय ८३ वटा बीमालेख बिक्री गरेका छन्।

लघु बीमा कम्पनीहरुमध्ये गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी ३८ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

त्यस्तै क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्सले ३७ करोड ७८ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थानमा रहँदा लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले ३० करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

life insuranceee.PNG


प्रकाशित : बिहीबार , असार ११ २०८३१३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend