मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि के छ आरोप?

मंगलबार, असार ९ २०८३
एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि के छ आरोप?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेका पौडेलमाथि राज्यसत्तामा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहको हित हुनेगरी निर्णय तथा काम गरेको र त्यसको बदलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक लाभ लिएको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेपछि उनीमाथि लागेका आरोप र अनुसन्धानको विषयवस्तु सार्वजनिक चासोको केन्द्र बनेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेका पौडेलमाथि राज्यसत्तामा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहको हित हुनेगरी निर्णय तथा काम गरेको र त्यसको बदलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक लाभ लिएको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

पौडेलले विगतमा विभिन्न मन्त्री पदमा रहँदा गरेका निर्णय, त्यससँग सम्बन्धित व्यक्तिहरू र त्यसपछिका आर्थिक गतिविधिबीचको सम्बन्धबारे विभागले अध्ययन गरिरहेको छ। विशेषगरी उनको नाममा तथा परिवारसँग जोडिएका सम्पत्ति, लगानी र सेयर कारोबारको स्रोतबारे अनुसन्धान केन्द्रित रहेको बताइएको छ।

विभागले उनको सम्पत्ति र आयस्रोतबीचको सम्बन्ध, सेयर बजारमा भएका लगानी, विभिन्न कम्पनीहरूसँगको सम्भावित सम्बन्ध तथा आर्थिक कारोबारको विवरण संकलन गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा ललितपुरको भैंसेपाटीस्थित निवासमा छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिइएको छ।

पौडेल सोमबार पार्टीको संगठन सुदृढीकरण कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जारी पक्राउ पुर्जीका आधारमा उनलाई सुर्खेतस्थित एक होटलबाट नियन्त्रणमा लिइएको थियो।

उनीलाई प्रारम्भिक प्रक्रियापछि नेपालगञ्ज लगिएको छ भने मंगलबार काठमाडौं ल्याएर विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरिएको छ। नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धान विभागले गर्ने र अभियोजन विशेष अदालतमा हुने कानुनी व्यवस्था छ।

पौडेल नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेतामध्ये एक मानिन्छन्। उनी आठ पटक मन्त्री बनेका छन् भने पाँच पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी तीन पटक उपप्रधानमन्त्री समेत भएका थिए।

२०५३ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्रीबाट मन्त्री यात्रा सुरु गरेका पौडेल जलस्रोत, रक्षा तथा अर्थ मन्त्रालयको नेतृत्व गर्दै देशको आर्थिक नीतिनिर्माणमा लामो समय प्रभावशाली भूमिकामा रहेका थिए।

राजनीतिक रूपमा एमालेका शीर्ष नेतामध्ये गनिने पौडेल हाल पार्टी पुनर्गठन र संगठन सुदृढीकरण अभियानमा सक्रिय थिए। गत २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–२ बाट पराजित भएपछि उनी संसद बाहिर रहेका छन्।


प्रकाशित : मंगलबार, असार ९ २०८३०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend