काठमाडौं- नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अब राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ।
केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्यांक परिषद्को आजको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। आगामी एक वर्षसम्म तथ्यांक संकलन, प्रशोधन तथा प्रकाशनका लागि नेपाल राष्ट्र बैंकलाई सहयोग गर्नेछ। तथ्यांक कार्यालयका कर्मचारी, प्राविधिक जनशक्ति एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्यांक कार्यालयमा हस्तान्तरण हुनेछ।
लामो समयसम्म उपभोक्ता मूल्य सूचकांकको काम राष्ट्रिय तथ्यांक कार्यालयले गरेपनि पछि केन्द्रीय बैंकले जिम्मा लिएर प्रकाशन गर्दै आएको छ। केन्द्रीय बैंकले हरेक महिना विवरण सार्वजनिक गर्दै आएको छ।
प्रमुख तथ्यांक अधिकारी पोख्रेलले महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै तथ्यांकको दोहोरापना हटाउन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे। 'हामीले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छौँ, यसले हामीलाई थप सबल बनाउनेछ भने तथ्यांक कार्यालयलाई पनि काम उपलब्ध हुनेछ', पोख्रेलले भने।
संरचनागत सुधार, स्रोत तथा साधनको उपलब्धतालाई समेत ख्याल गरेर सङ्क्रमणकालीन रुपमा एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्यांक कार्यालयले जिम्मेवारी लिने उनको भनाइ छ। सात दिनमा तथ्यांक संकलन, प्रशोधन तथा महिना दिनमा प्रकाशन गर्नुपर्ने भएकाले उपभोक्ता मूल्य सूचकांकको काम आफैमा चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे।
हाल तथ्यांक कार्यालयले त्रैमासिक रुपमा उपभोक्ता मूल्य सूचकांकको काम गर्दै आएको थियो। कार्यालयलाई थप सबल सक्षम र कामकाजी बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले गर्दै आएको जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै प्रमुख तथ्यांक अधिकारी पोख्रेलले यसलाई गौरवको रुपमा लिनुपर्ने तर्क गरे।
उनले तथ्यांकको दोहोपना हट्ने र मौद्रिक नीति तय गर्ने केन्द्रीय बैंकले नै उपभोक्ता मूल्य सूचकांकको काम गर्दा आउने आलोचनासमेत कम भएर जाने विश्वास व्यक्त गरे।
'आवश्यक तयारीका लागि केही समय लाग्छ, त्यसपछि हामी हामी आफै सबल र सक्षम बन्छौ। तत्कालका लागि राष्ट्र बैंककै साधन र स्रोत उपयोग गरेर काम गर्छौ', उनले भने।