काठमाडौं- पासपोर्ट ठेक्का प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित विभिन्न १२ व्यक्ति र दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उक्त प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मणिन्द्र राज मल्लविरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन्। त्यस्तै मल्ल जर्मन कम्पनी मुलबाउरका नेपाल प्रतिनिधि हुन्। मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ। थापा भने सम्पर्कविहीन छन्।
सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ लगायत प्रचलित कानूनको प्रतिकूल हुने गरी बोलपत्रका सर्त तथा मापदण्ड परिवर्तन गरेको, स्वीकृत भइसकेको सर्त तथा मापदण्ड विपरीत हुने गरी बदनियतपूर्वक बोलपत्र मूल्यांकन गरेको साथै प्रचलित कानूनविपरीत बोलपत्रहरूको टेक्निकल इभ्यालुएसन र फाइनान्सियल इभ्यालुएसन गरी गलत सिफारिस तथा गलत निर्णयलगायतका काम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
राहदानी विभागलाई १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४ सय ७७ रुपैयाँ हानी पुर्याइ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), (घ२), (घ३), (घ९), (ङ), (च), (ञ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।