काठमाडौं- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूको तुलनामा सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ठोस कार्ययोजना कार्यान्वयनमा ल्याएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक दुर्घटना न्यूनीकरणका लागि चार वर्षे कार्ययोजना तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। सडक दुर्घटना रोक्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले सरकारले यसअघि भन्दा धेरै बजेट र कार्यक्रम सडक सुरक्षामा केन्द्रित गरेको दाबी गरे।
उनका अनुसार सडक सुरक्षासम्बन्धी कार्यक्रमअन्तर्गत ‘रोड फर्निसिङ’ तथा सुरक्षा पूर्वाधार विस्तारका लागि ४ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै जिल्ला सदरमुकाम जोड्ने एकलेन सडकहरूको स्तरोन्नतिका लागि ११ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।
मन्त्री लम्सालले आगामी तीन वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने एकलेन सडकलाई दुई लेनमा विस्तार गर्ने लक्ष्य सरकारले लिएको बताए। “आजभन्दा अघिका सरकारहरूको तुलनामा हामीले सडक सुरक्षामा धेरै ध्यान दिएका छौं। सडक सुरक्षाका लागि तीन वर्षे योजना बनाएका छौं र त्यसका लागि पर्याप्त बजेट पनि व्यवस्था गरेका छौं,” उनले भने।
उनले एकलेन सडकमा दुर्घटनाको जोखिम बढी देखिएकाले ती सडकलाई क्रमशः दुई लेनमा विस्तार गर्ने नीति लिइएको स्पष्ट पारे। आवश्यक परे थप बजेट व्यवस्थापन गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले सडक स्तरोन्नतिका काम बजेट अभावका कारण नरोकिने दाबी गरे।
मन्त्री लम्सालका अनुसार सडक चौडाइ विस्तार, सुरक्षा संकेत, रेलिङ, सडक चिह्न तथा अन्य सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमार्फत दुर्घटना न्यूनीकरण गर्ने सरकारको योजना रहेको छ। उनले सडक पूर्वाधारको गुणस्तर सुधार र सुरक्षित यातायात प्रणाली निर्माणलाई सरकारले प्राथमिकतामा राखेको पनि बताए।