काठमाडौं- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ वटा उद्योगको पानी र विद्युत् लाइन काटेको छ।
देशभरका १० वटा औद्योगिक क्षेत्रमा लामो समयदेखि भाडा, सेवा शुल्क तथा महसुल नतिर्ने उद्योगहरूलाई लक्षित गर्दै बुधबारदेखि कारबाही सुरु गरिएको हो।
लिमिटेडका अनुसार लाइन काट्ने प्रक्रिया सुरु भएकै दिन करिब १० करोड रुपैयाँ बक्यौता असुल भएको छ। सबैभन्दा धेरै प्रभावित बालाजु औद्योगिक क्षेत्र रहेको छ, जहाँ मात्रै २४ वटा उद्योगको सेवा विच्छेद गरिएको छ।
बालाजु औद्योगिक क्षेत्रमा बालाजु अटो वर्क्स, गुराँस इन्जिनियर्स, आरके प्लास्टिक, नेपाल पोली पाइप, पूजा इन्टरनेसनल, जयहनुमान फुड्स, नेपाल पेन्ट्स, त्रिकोण मेटल इन्डस्ट्रिज, सूर्य सनसाइन लगायत उद्योगको विद्युत् तथा पानी सेवा काटिएको छ।
त्यसैगरी हेटौंडा औद्योगिक क्षेत्रमा १३ वटा उद्योग, पाटन औद्योगिक क्षेत्रमा ७ वटा, पोखरामा ५ वटा, बुटवल र भक्तपुरमा ४-४ वटा उद्योग प्रभावित भएका छन्। नेपालगञ्ज, धरान र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा समेत विभिन्न उद्योगहरूको सेवा विच्छेद गरिएको छ।
कारबाहीपछि ८ वटा उद्योगले तत्काल बक्यौता भुक्तानी गरेपछि उनीहरूको विद्युत् लाइन पुनः जडान गरिएको लिमिटेडले जनाएको छ। बाँकी ५५ वटा उद्योग भने हालसम्म पूर्ण रूपमा लाइन काटिएको अवस्थामा छन् र बक्यौता नतिरेसम्म सेवा पुनः जोडिने छैन।
लिमिटेडले बिहीबार पनि अन्य बक्यौता रहेका उद्योगहरूमा कारबाही जारी रहने जनाएको छ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूको विद्युत् लाइन काट्ने र प्रशासनिक दबाब बढाउने कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले भाडा विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सात दिनको छोटो समय दिएर बक्यौता असुलीका नाममा विद्युत् विच्छेद गर्नु कानूनी राज्य र व्यवसायिक शिष्टाचारविपरीत भएको टिप्पणी गरेको छ।
महासंघका अनुसार यस्ता कदमले उत्पादनमूलक उद्योगहरूको सञ्चालन ठप्प पार्ने, लगानीकर्ताको मनोबल कमजोर बनाउने र स्वदेशी तथा विदेशी लगानीसमेत निरुत्साहित गर्ने खतरा रहन्छ।
सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई उद्योग सञ्चालन अवरोध हुने गतिविधि रोक्दै संवाद र सहमतिको माध्यमबाट समस्याको समाधान खोज्न महासंघले आग्रह गरेको छ।