बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

औद्योगिक क्षेत्रभित्रको समस्या कानूनी संवाद र सहमतिबाट समाधान गर्न महासंघको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
औद्योगिक क्षेत्रभित्रको समस्या कानूनी संवाद र सहमतिबाट समाधान गर्न महासंघको आग्रह

कानूनी प्रक्रियाको सम्मान गर्दै संवाद र सहमतिको माध्यमबाट मात्र जग्गा भाडाको वैज्ञानिक र व्यवहारिक समाधान खोज्न महासंघले आग्रह गरेको छ।

काठमाडौं- नेपाल सरकारअन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रहरूमा स्थापित करिब ७ सय उद्योगहरूमाथि हालै प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारीप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिको विवादसम्बन्धी सर्वोच्च अदालत साथै उच्च अदालतको फैसलाउपर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आफैँले विभिन्न मितिमा संचालक समितिको बैठकको निर्णयानुसार सर्वोच्च अदालत साथै उच्च अदालतमा पुनरावलोकनको मुद्दा दायर गरिसकेको  महासंघले जनाएको छ।

कानूनीरूपमा मुद्दा विचाराधीन रहेको र उद्योगीहरूले भाडादरको स्पष्ट विवरण माग गर्दासमेत उपलब्ध नगराइएको परिस्थितिमा, अकस्मात ७ दिनको छोटो अवधि दिएर बक्यौता तिर्न ताकेता गर्नु र सोही बहानामा उद्योगको विद्युत काट्नु र उद्योग सञ्चालन गर्न अवरोध हुने गरि अनावश्यक मानसिक दबाब दिनु कानूनी राज्य र व्यवसायिक शिष्टाचार विपरित रहेको महासंघको भनाइ छ।

'वर्तमान समयमा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व हो। साथै उद्योगहरुलाई निर्वाध सञ्चालनको लागि सहयोग र सहजिकरण गर्ने दायित्व औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पनि हो' महासंघले विज्ञप्तिमार्फत भनेको छ।

'यस्तो संवेदनशील समयमा, उद्योगहरूको विद्युत लाइन काटेर उत्पादन ठप्प पार्ने र उद्योग नै बन्द गर्नुपर्ने स्थिति सिर्जना गर्नु कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन सक्दैन। यस किसिमको कदमले स्वदेशी लगानीकर्ताहरूको मनोबल गिराउने, तथा स्वदेशी तथा विदेशी लगानीलाई समेत निरुत्साहित गर्ने छ' महासंघले भनेको छ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमक्ष उद्योगहरूलाई त्रसित नपार्ने र उत्पादन प्रवाह रोक्ने खालका सबै गतिविधिहरू तत्काल रोक्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ।

कानूनी प्रक्रियाको सम्मान गर्दै संवाद र सहमतिको माध्यमबाट मात्र जग्गा भाडाको वैज्ञानिक र व्यवहारिक समाधान खोज्न महासंघले आग्रह गरेको छ।  


प्रकाशित : बिहीबार , असार ४ २०८३११:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend