काठमाडौं-अमेरिका र इरानबीच तनाव कम हुने संकेत तथा स्ट्रेट अफ होर्मुजमार्फत तेल ढुवानी पुनः सहज हुने अपेक्षाले अन्तर्राष्ट्रिय तेल बजार लगातार ओरालो लागेको छ। विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिने ऊर्जा बजारमा आपूर्ति अवरोधको जोखिम घटेसँगै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।
बिहीबार अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५.४७ डलरमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.३२ डलर अर्थात् १.७२ प्रतिशतले कम हो। त्यस्तै, अन्तर्राष्ट्रिय बजारको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य पनि १.२५ डलर घटेर प्रतिब्यारेल ७८.३० डलरमा पुगेको छ, जुन १.५७ प्रतिशतको गिरावट हो।
भारतले आयात गर्ने कच्चा तेलको औसत मूल्य मापन गर्ने ‘इन्डियन बास्केट’मा सबैभन्दा ठूलो गिरावट देखिएको छ। यसको मूल्य ४.१८ डलर घटेर प्रतिब्यारेल ७८.६६ डलरमा झरेको छ, जुन ५.०५ प्रतिशतको कमी हो। त्यस्तै, ओपेक सदस्य राष्ट्रहरूको औसत मूल्य सूचक ‘ओपेक बास्केट’ पनि ३.४७ डलर घटेर ८४.४३ डलरमा सीमित भएको छ।
अमेरिका–इरानबीच सहमति जुट्दै गएको र स्टेट अफ हर्मुज खुला रहने विश्वास बढेकाले बजारमा आपूर्ति संकटको डर कम भएको छ। विश्व समुद्री मार्गबाट हुने कच्चा तेल ढुवानीको ठूलो हिस्सा यही मार्गबाट हुने भएकाले त्यहाँको स्थायित्वले मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
कच्चा तेलसँगै पेट्रोलियम उत्पादनको मूल्य पनि घटिरहेको छ। ग्यासोलिनको मूल्य ०.५४ प्रतिशत र हिटिङ आयलको मूल्य १.६६ प्रतिशतले घटेको छ। यसले विश्वव्यापी मुद्रास्फीतिमा समेत केही राहत पुग्न सक्ने अपेक्षा गरिएको छ।