काठमाडौं- बिदाको दिनमा वा कार्यालय समयभन्दा अघिपछि अतिरिक्त समय काम गरेबापत कर्मचारीलाई निजले पाउने तलबभत्ताको डेढीको हिसाबले 'अतिरिक्त समय भत्ता' दिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली संशोधन मस्यौदा तयार पार्दै यस्तो प्रस्ताव गरेको हो। राष्ट्रिय चाडपर्वको बिदाको दिनमा काम गरेबापत प्रत्येक कर्मचारीलाई निजले पाउने तलब भत्ताको दोबर भुक्तानी दिनुपर्ने छ। जसमा कर्मचारीको सुपरभाइजर वा कार्यालय प्रमुखले काममा लगाएको हुनुपर्नेछ।
कुनै महिला कर्मचारीलाई सूर्यास्त भएपछि वा सूर्योदय हुनुअगावै कार्य समय प्रारम्भ हुनेगरी काममा लगाउँदा बैंकले आवश्यकताअनुसार यातायातको व्यवस्था मिलाउनु पर्नेछ।
बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत उच्च व्यवस्थापकीय पद खाली भएको तीन महिनाभित्र अनिवार्य नियुक्ति गरिसक्नुपर्ने भएको छ। मस्यौदामा सुझाव पेस गर्न १५ दिनको समय दिइएको छ।
प्रस्तावित व्यवस्थाअनुसार संस्थाको सांगठनिक संरचना परिवर्तन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणअनिवार्य गरिएको छ। आन्तरिक बढुवामा कार्यसम्पादन मूल्यांकनलाई बढी भार दिइने उल्लेख छ।
कर्मचारीले वार्षिक एक महिनाको तलबबराबर चाडपर्व खर्च पाउने छन् भने महिला कर्मचारीले १४ हप्ताको सशुल्क प्रसूति बिदा पाउने व्यवस्था छ। साथै कर्मचारीलाई वर्षमा न्यूनतम ७ दिन अनिवार्य लगातार बिदा दिनुपर्नेछ।
विकृति रोक्न कर्मचारीले ग्राहकलाई प्रलोभनमा पारी व्यक्तिगत फाइदाका लागि कर्जा लगानी गर्न र संस्थाको लिलामी प्रक्रियामा सहभागी हुन पाउने छैनन्। श्रम कानूनलाई व्यवस्थित गर्न सातामा बढीमा २४ घण्टामात्र ओभरटाइम लगाउन पाइने सीमा तोकिएको छ।
संस्थाभित्र वित्तीय अनुशासन कायम राख्न अनिवार्य 'ह्विसलब्लोइङ' प्रणाली लागु गर्नुपर्नेछ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार रोक्न र लैङ्गिक समानता कायम गर्न न्यूनतम २ महिला र २ पुरुष सदस्य रहने गरी आचारसंहिता उपसमिति र व्यवस्थापन एवं कर्मचारीको समान प्रतिनिधित्व हुने गरी श्रम सम्बन्ध समिति गठन गर्नुपर्ने मस्यौदामा उल्लेख छ।
कर्मचारीले वर्षमा १२ दिन तलबभत्तासहितको बिरामी बिदा पाउनेछ। बिरामी बिदा सञ्चित गर्न पाइनेछ। यस्तो सञ्चित बिरामी बिदाबापत कर्मचारीले खाइपाइ आएको तलबभत्ताको आधारमा हिसाब गरी कर्मचारी सेवाबाट अलग भएका बखत वा ४५ दिनभन्दा बढी बिदा सञ्चित भएपछि कर्मचारीले रकम लिन चाहेमा ४५ दिन बिदा सञ्चित राखी बढी दिनको बिदाको रकम एकमुष्ठरुपमा प्रदान गरिनेछ।