काठमाडौं- अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसक्दा घरजग्गा कारोबारमा झनै गिरावट देखिएको छ। पछिल्ला महिनामा लिखत पारित संख्या घटबढ भइरहे पनि समग्र प्रवृत्ति कमजोर देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
शक्तिशाली सरकार गठन भए पनि अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसक्दा घरजग्गा कारोबारमा सुस्तता देखिएको हो। यसको प्रत्यक्ष असर मालपोत कार्यालयमार्फत संकलन हुने राजस्वमा परेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयबाट जेठ महिनामा ५४ हजार ७२४ लिखत पारित भएका छन्। सो अवधिमा कुल ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व संकलन भएको छ। जेठको यो तथ्यांक चैत र वैशाखको तुलनामा घटेको देखिन्छ।
विभागका तथ्यांकअनुसार चैतमा ५५ हजार ५३१ लिखत पारित हुँदा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। वैशाखमा कारोबार केही बढ्दै ५८ हजार ८८६ लिखत पारित हुँदा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। तर जेठमा भने कारोबार र राजस्व दुवै घटेको देखिएको छ। फागुन महिनामा ३६ हजार ४७१ लिखत पारित भएको विभागले जनाएको छ।
जेठ महिनामा राजधानी केन्द्रित कार्यालयहरूबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। ललितपुरको लगनखेल भूमि प्रशासन कार्यालयबाट मात्र ५० करोड एक लाख ४७ हजार ६० रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै काठमाडौं उपत्यकाका ६ मालपोत कार्यालयबाट कुल १ अर्ब ३५ करोड ६० लाख ५२ हजार रुपैयाँ राजस्व उठेको विभागको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी भक्तपुर मालपोत कार्यालयबाट जेठमा ४१ करोड ११ लाख ४१ हजार ८८१ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौंका चाबहिल मालपोत कार्यालयले ३१ करोड ४२ लाख १९ हजार रुपैयाँ तथा टोखा कार्यालयले १० करोड ९९ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। डिल्लीबजार मालपोत कार्यालयले मात्रै ३४ करोड ४४ हजार रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ।
विभागका अनुसार जेठ महिनामा सेवा कर, रजिस्ट्रेशन दस्तुर र पूँजीगत लाभकरमार्फत राजस्व संकलन गरिएको हो। कुल राजस्वमध्ये सेवा करबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ, रजिस्ट्रेशन दस्तुरबाट २ अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६ रुपैयाँ र पूँजीगत लाभकरबाट २ अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ संकलन भएको छ।
यसअघि वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट ६ अर्ब २६ करोड ३८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो। फागुनमा भने राजस्व ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार रुपैयाँमा झरेको विभागको तथ्यांकमा उल्लेख छ। माघमा भने करिब ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।
