काठमाडौं- सुदूरपश्चिम बाहेक सबै प्रदेशले बजेट ल्याएका छन्। छ वटै प्रदेशले पूर्वाधार विकास र सेवा प्रवाहलाई लक्षित गर्दै बजेट सार्वजनिक गरेका छन्।
कोशी प्रदेशले ४० अर्ब ४४ करोड रुपैयाँको बजेट ल्याएको छ। कोशीले पूर्वाधार विकास, पर्यटन, कृषि तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिंदै बजेट ल्याएको हो।
त्यस्तै मधेस प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकता दिँदै ४९ अर्बको बजेट ल्याएको छ। उद्यमशीलता विकास तथा सार्वजनिक खर्चको विवेकशील परिचालनमा केन्द्रित रहँदै मधेसले बजेट ल्याएको छ।
सबैभन्दा धेरै बजेट ल्याउनेमा बागमती प्रदेश रहेको छ। सदाझैँ बागमतीले सबैभन्दा धेरै बजेट ल्याएको हो। बागमतीले आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ। उद्यमशीलताको विकास, सेवा सुविधा तथा सहरी पूर्वाधार, कृषि तथा रोजगारीलाई प्राथमिकता दिंदै संघीय राजधानी रहेको प्रदेशले बजेट ल्याएको हो।
गण्डकी प्रदेशले ३२ अर्ब ९९ करोडको बजेट ल्याएको छ। गण्डकीले क्रमागत आयोजनालाई तीव्रता दिने, ग्रामीण रोजगारी सिर्जना तथा गाउँ तहको पुर्नजागरणलाई प्राथमिकता दिंदै बजेट ल्याएको हो।
कर्णाली प्रदेशले भने ग्रामीण पूर्वाधारलाई प्रथामिकता दिँदै ३५ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको हो। शिक्षा तथा स्वास्थ्य पूर्वाधार, सडक तथा सार्वजनिक भवन जस्ता पूर्वाधारलाई बजेटले प्राथमिकता दिएको छ। त्यस्तै अन्य सामाजिक सेवाका लागि पनि बजेटले प्रथमिकता दिएको छ।
सुदूरपश्चिम प्रदेशमा भने विवाद हुँदा बजेट अझै आउन सकेको छैन। मन्त्रिपरिषदमा राजनीतिक भागबण्डा नमिल्दा बजेट आउन सकेको छैन।
