म्याग्दी- म्याग्दी जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्।
अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।
रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीले अल्लोबाट कपडा बनाउने काम गरिरहेका जानकारी दिए।
हिउँदयाममा लेकाली क्षेत्रको जङ्गलमा अल्लोको पुवा सङ्कलन, प्रशोधन गरी धागो बनाउने र घरायसी कामबाट बचेको फुर्सदको समयमा धागो बनाउने गरेको उद्यमी हिमदेवी घर्तीले बताए। उनका अनुसार चाल्से सिस्नोको डाँठको बाहिरी भागबाट पुवा निकाल्ने गरिन्छ । पुवालाई तातोपानीमा पकाएर तयार पारिएको रेसादार धागोलाई तानको सहायताले कपडा बुन्ने गरिन्छ।
उद्यमीहरूले कपडाका विभिन्न सामग्री बनाएर विविधिकरण गर्न थालेका छन्। ग्राहकको माग अनुसार कोट, झोला, सपिङ ब्याग, सल, पछ्यौरा, ‘पर्स’ बनाएर बिक्री गर्दा थप आम्दानी हुने उद्यमी गौमाया पुनले बताइन्।
अल्लोबाट बनेको एउटा कोटलाई ५ हजार रुपैयाँ मूल्य पर्ने गौमायाले जानकारी दिइन्। उनका अनुसार रुम घुम्न आउने पर्यटक र पाहुनाले कोशेलीका रूपमा अल्लोका कपडा किनेर लैजाने गरेका छन्। बेनी, पोखरा, बागलुङ, कुश्माका मेला तथा महोत्सवमा प्रदर्शनीमा लगेर सामानको प्रवर्द्धन गरिएको छ। छुट्टी र चाडपर्व मनाउन जन्मथलो आएका प्रवासीहरू पनि अल्लोका कपडाका ग्राहक बनेको उनको अनुभव छ।
मालिका गाउँपालिकाकी उद्यम विकास सहजकर्ता होमदेवी खत्रीले रुमका उद्यमीलाई अल्लोको कपडाबाट सामग्री बनाउन स्तरोन्नतिसम्बन्धी तालिमका साथै तान सहयोग गरिएको बताइन्।
सामूहिक रूपमा कपडा बुन्ने उद्यमीका लागि साझा सुविधा केन्द्रको भवन पनि निर्माण गरिएको मालिका-२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए। उनका अनुसार स्थानीय स्रोतसाधनमा आधारित उद्यमले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
पहिले जङ्गलमा खेर जाने अल्लो आज रुमका महिलाको जीवन परिवर्तन गर्ने माध्यम बनेको छ। परिश्रम, सीप र सामूहिक प्रयासले उनीहरूले गाउँमै आयआर्जनको दिगो आधार तयार गरेका छन्। स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्न सके अल्लो उद्यम ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।रासस
