आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

इरान-अमेरिका सम्झौता अन्तिम चरणमा, हस्ताक्षर समयबारे अझै अन्योल

आइतबार, जेठ ३१ २०८३
इरान-अमेरिका सम्झौता अन्तिम चरणमा, हस्ताक्षर समयबारे अझै अन्योल

कतारी मध्यस्थकर्ताहरू सम्झौतालाई अन्तिम रूप दिन आइतबार बिहान इरान पुगेका छन्। दुवै पक्षले समझदारीपत्र टुंग्याउने प्रयास गरिरहे पनि समयसीमाबारे भने फरक-फरक दाबी सार्वजनिक भइरहेका छन्।

काठमाडौं- अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले जनाएअनुसार इरान र अमेरिकाबीच युद्ध रोक्ने तथा नयाँ राजनीतिक समझदारी गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ, तर सम्झौतामा हस्ताक्षर कहिले हुने भन्ने विषयमा अझै स्पष्टता छैन।

कतारी मध्यस्थकर्ताहरू सम्झौतालाई अन्तिम रूप दिन आइतबार बिहान इरान पुगेका छन्। दुवै पक्षले समझदारीपत्र टुंग्याउने प्रयास गरिरहे पनि समयसीमाबारे भने फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता आइतबार नै हुन सक्ने बताएका थिए। तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले ट्रम्पको दाबी अस्वीकार गर्दै सम्झौता अझै अन्तिम रूप नपुगेको र वार्ता प्रक्रियामै रहेको जनाएको छ।

इरानी सरकारी तथा अर्ध–सरकारी सञ्चारमाध्यमहरूले पनि तेहरानले प्रस्तावित समझदारीपत्रबारे अझै अन्तिम निर्णय नगरेको उल्लेख गरेका छन्। सीएनएनका अनुसार राजनीतिक, कानुनी र प्राविधिक पक्षहरूको समीक्षा जारी छ र सम्भावित असरहरूको विस्तृत मूल्यांकन भइरहेको छ।

सम्झौता भएमा भर्चुअल माध्यमबाट हस्ताक्षर गर्ने तयारी गरिएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार समझदारीपत्रमा हस्ताक्षर भएपछि ६० दिनको नयाँ वार्ता अवधि सुरु हुने व्यवस्था रहनेछ।

विश्लेषकहरूलाई उद्धृत गर्दै यो प्रक्रिया पूर्ण शान्ति सम्झौता नभई प्रारम्भिक चरणको समझदारी मात्र भएको उल्लेख गरेको छ। यसले इरानले स्ट्रेट अफ हर्मुज क्षेत्रमा लगाएको अवरोध हटाउने र अमेरिकासँग केही प्रारम्भिक सहमति गर्ने विषय समेट्न सक्ने बताइएको छ।

इरानको आणविक कार्यक्रम, प्रतिबन्ध हटाउने प्रक्रिया र अन्तर्राष्ट्रिय निगरानीजस्ता विषय भने अझै आगामी वार्ताको मुख्य एजेन्डा रहनेछन्।

सीएनएनले यो पनि उल्लेख गरेको छ कि ट्रम्पले सम्झौतापछि अमेरिकाले इरानको आणविक सामग्रीमाथि पहुँच प्राप्त गर्ने दाबी गरेका छन्। तर इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको दाबी गर्दै आएको छ।

दुवै पक्षबाट सकारात्मक संकेत आए पनि सम्झौतामा हस्ताक्षर कहिले हुने भन्ने विषय अझै अनिश्चित रहेको जनाइएको छ।


प्रकाशित : आइतबार, जेठ ३१ २०८३१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend