आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

असार १५ भित्रै विपी राजमार्गको भकुण्डेबेँसी-नेपालथोक खण्डमा माथिबाट यातायात सञ्चालन हुने

आइतबार, जेठ ३१ २०८३
असार १५ भित्रै विपी राजमार्गको भकुण्डेबेँसी-नेपालथोक खण्डमा माथिबाट यातायात सञ्चालन हुने

गत वर्षको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्डमा आगामी असार १५ गतेभित्र मुख्य सडक संरचनाको माथिल्लो भागबाटै सवारीसाधन सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौं- गत वर्षको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्डमा आगामी असार १५ गतेभित्र मुख्य सडक संरचनाको माथिल्लो भागबाटै सवारीसाधन सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर सडक अवरुद्ध हुने समस्या दोहोरिन नदिन सडक डिभिजन भक्तपुरले स्थायी संरचनामार्फत यातायात सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र बनाएको हो।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल प्रयोग भइरहेको डाइभर्सन सामान्य वर्षामा समेत बग्ने गरेको छ। त्यसैले यस वर्ष खोलाबाट डाइभर्सन दिएर नभई माथिल्लो सडक संरचनाबाटै यातायात सञ्चालन गर्ने गरी निर्माण कार्य अघि बढाइएको छ। उनका अनुसार जेठ मसान्तसम्म अधिकांश महत्वपूर्ण संरचनाहरू निर्माण सम्पन्न हुनेछन् र असार महिनादेखि सवारीसाधन मुख्य सडकको किनाराबाट सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुनेछ।

धुलिखेल–खावा खण्डको ४ किलोमिटर सडकमध्ये करिब २.५ किलोमिटरमा पहिलो तहको बिटुमिनस कार्य सम्पन्न भइसकेको छ भने बाँकी १.५ किलोमिटरमा सब–बेसको काम भइरहेको छ। त्यसपछिको बेस र डेन्स बिटुमिनस म्याकाडम (डीबीएम) कार्य भने बिटुमिनको उपलब्धतामा निर्भर रहेको सडक डिभिजनले जनाएको छ।

योगेशका अनुसार अहिले निर्माण कम्पनीसँग बिटुमिनको मौज्दात छैन। बजारमा बिटुमिनको अभावसँगै मूल्यसमेत बढेको छ। आगामी ८–१० दिनभित्र बिटुमिन उपलब्ध भए कामले थप गति लिने भए पनि अभाव कायम रहे केही असर पर्न सक्ने उनले बताए।

उनका अनुसार डिजेलको मूल्यवृद्धिले निर्माणमा ठूलो असर नपारे पनि बिटुमिनको अभाव अहिलेको मुख्य चुनौती बनेको छ। मूल्यवृद्धिका आधारमा निर्माण व्यवसायीहरूले मूल्य समायोजनको माग गरे पनि ठेक्का सम्झौतामा उल्लेख भएको व्यवस्था अनुसार मात्रै समायोजन गर्न सकिने मन्त्रालयको निर्देशन रहेको उनले जानकारी दिए।

योगेशले हालको प्राथमिकता विपद्ले क्षति पुर्‍याएको करिब ८ किलोमिटर क्षेत्रमा वर्षायामअघि आवश्यक संरचना निर्माण गरी माथिबाटै यातायात सञ्चालन गर्ने रहेको बताए। कटिङ, मेसनरी वाललगायतका केही सहायक काममा अपेक्षाकृत कम ध्यान पुगेको हुनसक्ने स्वीकार्दै उनले मुख्य लक्ष्य भने सन्तोषजनक रूपमा अघि बढिरहेको दाबी गरे।

निर्माण व्यवसायीको तर्फबाट परियोजना प्रतिनिधि उत्तम ढुंगेलले असार १५ भित्रै सडक सञ्चालन गर्ने लक्ष्यसहित दिनरात काम भइरहेको बताए। उनका अनुसार परियोजनाको भौतिक प्रगति ३०–३१ प्रतिशत र वित्तीय प्रगति २४–२५ प्रतिशत पुगेको छ।

उनले बक्सिगुना क्षेत्र परियोजनाको सबैभन्दा संवेदनशील भाग भएको उल्लेख गर्दै २३० मिटर लम्बाइको उक्त खण्डमध्ये अब ७० मिटर मात्र निर्माण गर्न बाँकी रहेको बताए। उक्त खण्डमा माथिबाट यातायात सञ्चालन गर्न मिल्ने संरचना निर्माण भइरहेको र आगामी ४–५ दिनभित्र आपत्कालीन अवस्थामा सवारी सञ्चालन गर्न सकिने गरी मार्ग खुला गरिने उनको भनाइ छ।

ढुंगेलका अनुसार बाढीले यही क्षेत्रमा तीन पटकसम्म क्षति पुर्‍याएको थियो। क्षतिग्रस्त संरचना पुनः निर्माण गर्न १५–२० दिन लागेको र त्यसले परियोजनाको प्रगति झण्डै एक महिना पछाडि धकेलेको थियो। यद्यपि अहिले आवश्यक जनशक्ति, उपकरण तथा निर्माण सामग्री पर्याप्त रहेको र काम गर्ने वातावरण अनुकूल रहेको उनले बताए।

वर्षायामलाई ध्यानमा राख्दै विभिन्न स्थानमा कफरड्याम निर्माण गरी पूर्वतयारी गरिएको भन्दै उनले सामान्य बाढीले ठूलो असर नगर्ने तर अत्यधिक वर्षा भए थप सतर्कता अपनाइने बताए।

गत वर्ष असोज १२ र १३ गतेको बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरी पुनर्निर्माणको ठेक्का लगाइएको छ।

पहिलो खण्ड अन्तर्गत भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११.८ किलोमिटर सडकमा नवकान्तिपुर लामा जेभीले काम गरिरहेको छ। दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेँसीसम्मको ८.५ किलोमिटर क्षेत्रमा कमलजीत एभान जेभी परिचालित छ। तेस्रो खण्डअन्तर्गत डालाबेँसीदेखि वर्खेखोलासम्मको काम जापानी सहयोग नियोग (जाइका) ले गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर सडक नेपाली निर्माण कम्पनीले निर्माण गरिरहेको छ।

पुनर्निर्माणसँगै विपी राजमार्गको यो खण्ड अब पुरानो ‘इन्टरमिडिएट लेन’ स्तरबाट स्तरोन्नति भई पूर्ण दुई लेनको मानक सडकमा रूपान्तरण हुने भएको छ। सडक डिभिजन भक्तपुरका अनुसार नयाँ सडकको न्यूनतम चौडाइ ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर रहनेछन्।


प्रकाशित : आइतबार, जेठ ३१ २०८३१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend