काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्याउने लक्ष्य तय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार एक वर्षभित्र १ हजार ४० मेगावाट विद्युत् उत्पादन थपिनेछ।
मन्त्रालयका अनुसार निर्माणाधीन तथा अन्तिम चरणमा रहेका जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न विशेष पहल गरिनेछ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाको कामलाई समेत सहजीकरण गर्दै निर्धारित समयभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।
प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। आगामी आवमा ६६ केभी प्रसारण लाइनको लम्बाइ ७ हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८०८ सर्किट किलोमिटर पुर्याइनेछ। त्यस्तै, ३३ केभी प्रसारण लाइन ८ हजार ३२५ सर्किट किलोमिटरबाट बढाएर ८ हजार ४२९ सर्किट किलोमिटर पुर्याउने लक्ष्य राखिएको छ।
मन्त्रालयले आगामी आवमा प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टा पुर्याउने तथा विद्युत् चुहावटलाई १२.०३ प्रतिशतमा सीमित गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट र सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत् उत्पादन थपिने उल्लेख गरिएको छ।
आगामी आवमा १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य पनि सरकारले लिएको छ। ती प्रसारण लाइन सञ्चालनमा आएपछि आन्तरिक विद्युत् प्रवाह थप सहज हुने तथा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सुविधा पुग्ने मन्त्रालयको विश्वास छ।
सिँचाइतर्फ आगामी आवमा थप १५ हजार ७७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य तय गरिएको छ। साथै ठूला तथा मझौला नदीमा थप ७० किलोमिटर तटबन्ध निर्माण गर्ने र २१० हेक्टर जमिन उकास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
