काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन वर्षपछि पहिलोपटक नियमित दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको स्वामित्वमा रहेको वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा-दुबई रुटमा दैनिक उडान सञ्चालन गर्ने तयारी गरेको हो।
उद्घाटनपछि छिटफुट चार्टर्ड उडान र केही समयसम्म साप्ताहिक रूपमा सञ्चालन भएको नियमित सेवा पनि रोकिँदै आएको अवस्थामा पोखरामा पहिलोपटक निरन्तर दैनिक अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको हो। झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लामो समयसम्म व्यावसायिक उडान अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन।
फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-३ बाट पोखराका लागि सीधा सेवा सञ्चालन गर्ने जनाएको छ। कम्पनीका अनुसार पोखरा अब नेपालमा उसले सञ्चालन गर्ने दोस्रो गन्तव्य हुनेछ। दैनिक उडान सुरु भएसँगै यूएईबाट पोखरामा प्रत्यक्ष सेवा दिने पहिलो वायुसेवा कम्पनी पनि फ्लाई दुबई बन्नेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरलाइन्सले 'अन्तर्राष्ट्रिय ग्रीष्मकालीन तालिका २०२६' अन्तर्गत एक महिनाका लागि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको छ। सोअनुसार २०२६ सेप्टेम्बर २३ देखि अक्टोबर २४ (२०८३ असोज ७ देखि कात्तिक ७ सम्म) पोखरा-दुबई रुटमा उडान सञ्चालन हुनेछ।
प्राधिकरणले उपलब्ध गराएको तालिकाअनुसार फ्लाई दुबईको विमान साँझ ६:१५ बजे पोखरा आइपुग्ने र ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। यसले विशेषगरी पर्यटन सिजनको सुरुवातसँगै अन्तर्राष्ट्रिय पर्यटक आगमन बढाउने अपेक्षा गरिएको छ।
पोखरामा यसअघि चीनको सिचुआन एयरलाइन्सले चार्टर्ड उडान सञ्चालन गरेको थियो भने हिमालय एयरलाइन्सले काठमाडौं-पोखरा-ल्हासा रुटमा साप्ताहिक चार दिन उडान गरेको थियो। तर हाल उक्त सेवा पनि स्थगित भइसकेको छ।
यसबीचमा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शून्य अवस्थामा रहँदै आएको थियो। यस्तै २०७९ जेठमा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हाल कुनै नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन।
सरोकारवालाहरूका अनुसार पोखरामा दैनिक अन्तर्राष्ट्रिय उडान सुरु हुनु पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर हो। नेपालका प्रमुख चाडपर्व र पर्यटन सिजन एकैसाथ सुरु हुने समय भएकाले प्रभावकारी बजार व्यवस्थापन गर्न सके यात्रु तथा पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
लामो समयदेखि व्यावसायिक उडान अभाव झेलिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको यो कदमले अन्तर्राष्ट्रिय एयरलाइन्सको थप आकर्षण बढाउने विश्वास पनि व्यक्त गरिएको छ।
