शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २९ २०८३
‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’

असार महिनाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सडक सुरक्षा र नियम पालनामा जिम्मेवार हुन अनुरोध गर्ने र साउनदेखि कडा कानूनी कारबाही गर्ने योजना बनाएको काफ्लेले बताए।

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र सहर समेटेर र विकल्प दिएर सुधार गर्न आग्रह गरेकी छिन्।
 
बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँगको छलफलमा ट्राफिक व्यवस्थापनमा सहरको मुहारमात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँमा कसरी व्यवस्थापन भइरहेका छन्, त्यो पनि हेरेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख डंगोलको धारणा थियो। 

कार्यवाहक प्रमुख डंगोलले भनिन्, 'कालोपत्र सडकमा पार्किङ गरिएको छैन। यसले सहरको मुहार राम्रो देखाएको छ। यो राम्रो मुहार त्यतिबेला चम्किलो हुन्छ, जुनबेला भित्री गल्ली र चोकहरूमा सवारीसाधनको चाप व्यवस्थापन हुन्छ। सवारी चालकले ढुक्क भएर पार्किङस्थल कुन हो भनेर चिन्न सक्छन् र उपयोग गर्न सक्छन्। एकातिरको चाप अर्कोतिर सर्दैन।'

काठमाडौंको ट्राफिक व्यवस्थापनका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले थपिन् 'पार्किङको सुविधा तथा विकल्प दिएर व्यवस्थापन गरौँ। ट्राफिक प्रहरी र कामपा प्रहरीबीच निकट सम्बन्ध राखेर दीर्घकालीन काम गरौँ। यसका लागि कामपाले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ।' 

'काठमाडौंको पूर्वाधारसँग सवारी चालकहरूको मनोविज्ञान जोडिएको छ', ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले भने, 'सडकमा डोरी टाँगिएको छ भने, कोन राखिएको छ भनेमात्र ट्राफिक नियमको पालना गर्ने, यस्ता पूर्वाधार नराखेका ठाउँमा जथाभावी गर्ने परिपाटी छ। पूर्वाधारसँग सम्बन्धित यो मनोविज्ञान सुधारमा काम गर्नुपर्नेछ।' चालकहरू अनुशासनको कुरा गर्दै उनले गएका चार दिनमा विद्यालयका गाडी चलाउने १६ जना चालकले बिहानै मादक पदार्थ सेवन गरेको पाइयो, यो एउटा विम्ब हो, सुधार गर्नुपर्ने धेरै ठाउँ भएकाे बताए।  

असार महिनाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सडक सुरक्षा र नियम पालनामा जिम्मेवार हुन अनुरोध गर्ने र साउनदेखि कडा कानूनी कारबाही गर्ने योजना बनाएको काफ्लेले बताए। 

काठमाडौंको सहरी व्यवस्थापनका विषयमध्ये ट्राफिक व्यवस्थापन प्रमुखमध्येको एक हो। यसको सुधारबाट नागरिकले सरकारका काम  महसुस गर्न सक्छन्, भेट्न सक्छन्। यो उद्देश्य प्राप्त गर्नेगरी काम गरौँ। छलफलको निष्कर्ष थियो। कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पनि सहभागी थिए। रासस


प्रकाशित : शुक्रबार, जेठ २९ २०८३०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend