काठमाडौं- पश्चिम एसियामा बढ्दो भू-राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्न थालेको छ। इरानले विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग मानिने स्ट्रेट अफ हर्मुज जहाज आवतजावतमा कडाइ गरेपछि विश्व बजारमा आपूर्ति अवरुद्ध हुने चिन्ता बढेको हो।
बिहीबार ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ९५ डलर नजिक पुगेको छ भने अमेरिकी डब्लुटीआई पनि ९२ डलरभन्दा माथि कारोबार भएको छ। केही दिनअघि मूल्य घट्दो क्रममा रहे पनि पछिल्लो घटनाक्रमले बजार पुनः तनावग्रस्त बनेको विश्लेषकहरूको भनाइ छ।
विश्लेषकहरूका अनुसार इरान–अमेरिका तनाव चर्किएपछि स्ट्रेट अफ हर्मुजले हुने तेल ढुवानी प्रभावित भएको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले कुनै पनि अवरोधले तत्काल मूल्यमा प्रभाव पार्ने गर्छ।
यद्यपि कतिपय विश्लेषकहरूले युद्धको सुरुवातमा अनुमान गरिएझैं तेलको मूल्य प्रतिव्यारेल २०० डलरसम्म नपुगेको बताएका छन्। यसको मुख्य कारण चीनले तेल आयात उल्लेख्य रूपमा घटाएकाले विश्व बजारमा मागको दबाब कम भएको हो। हाल तेलको मूल्य ९०-९५ डलरको दायरामा सीमित रहनुमा चीनको कम खपत प्रमुख कारण मानिएको छ।
यसैबीच, तेल निर्यातक राष्ट्रहरूको संगठन ओपेकले सन् २०२६ को विश्वव्यापी तेल माग वृद्धिदरको प्रक्षेपण पुनः घटाएको छ। इरान-अमेरिका तनाव र आपूर्ति अनिश्चितताले विश्व अर्थतन्त्रमा असर पारेकाले माग अपेक्षाभन्दा कम रहने अनुमान गरिएको छ।
विश्व बैंकले पनि पश्चिम एसियाको संकटका कारण विश्व आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिएको छ। तेल र मलको आपूर्ति शृङ्खला प्रभावित हुँदा मुद्रास्फीति बढ्ने तथा विकासशील मुलुकहरू थप दबाबमा पर्ने अनुमान गरिएको छ।
ऊर्जा बजारका जानकारहरूका अनुसार हर्मुज जलसन्धिको अवस्था सामान्य नहुँदासम्म तेल बजारमा उतारचढाव जारी रहनेछ। तनाव थप चर्किएमा मूल्य अझ माथि जान सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।
