बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी : तपाईँका काण्डहरु थाहा नभएको हो र, ति पनि खुल्नेछन्

बिहीबार , जेठ २८ २०८३
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी : तपाईँका काण्डहरु थाहा नभएको हो र, ति पनि खुल्नेछन्

'यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्। तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्,' उनले भने।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा करसम्बन्धी अनियमितताका आरोपको कडा प्रतिवाद गर्दै कुनै पनि प्रकारको बेइमानी प्रमाणित भए मन्त्री पद मात्र नभइ सार्वजनिक जीवनसमेत त्याग्न तयार रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयमा बसेर करका दर हेरफेर गरी निश्चित व्यापारीलाई फाइदा पुर्‍याएको भन्ने आरोप निराधार रहेको दाबी गरे। उनले आफूविरुद्ध उठाइएका आरोप तथ्यमा आधारित नभएको जिकिर गर्दै व्यक्तिगत आरोप लगाउने सांसदहरूलाई पनि नैतिक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

वाग्लेले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध आएका समाचार र आरोपहरूको खण्डन गरिसकेको उल्लेख गर्दै जनताले सुशासनको एजेन्डामा दिएको विश्वासलाई कुनै हालतमा धोका नदिने बताए।

'सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र? सक्दैनौं,' उनले भने, '२ अर्बको आशंका भनेर लेखिएको छ। तर २ अर्ब होइन, २ रुपैयाँको पनि बदमासी वा बेइमानी मबाट भएको प्रमाणित भयो भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि तयार छु।'

उनले आफूमाथि औँलो उठाउने सांसदहरूलाई लक्षित गर्दै उनीहरूका विगतका विवादास्पद घटनाबारे पनि आफूहरू जानकार रहेको संकेत गरे।

'यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्। तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्,' उनले भने।

अर्थमन्त्री वाग्लेले सुशासनको ‘निर्मम एजेन्डा’ लिएर सरकार अघि बढिरहेको दाबी गर्दै व्यक्तिगत लाञ्छना लगाउनुअघि तथ्य र प्रमाणका आधारमा बहस गर्न आग्रह गरे।


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend