काठमाडौं- प्रतिनिधि सभामा बोल्दै सांसद पद्मा अर्याल ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा आलोचना गरेकी छन्।
सभामा बजेटसम्बन्धी छलफलका क्रममा उनले अर्थमन्त्रीको कार्यशैली, कर नीति हेरफेर र सार्वजनिक अभिव्यक्तिबारे प्रश्न उठाउँदै तीव्र आलोचना गरेकी हुन्। उनले व्यंग्यात्मक शैलीमा 'प्रकाण्ड विद्वता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो' भन्दै अर्थमन्त्रीको नीतिगत क्षमतामाथि टिप्पणी गरिन्।
अर्यालले सरकारभित्र करका दर हेरफेरसम्बन्धी विरोधाभासी अभिव्यक्तिहरू आएको दाबी गर्दै अर्थमन्त्रीका विभिन्न सार्वजनिक भनाइहरू एकआपसमा मेल नखाने बताइन्। उनका अनुसार एकातर्फ अर्थ समितिमा कुनै परिवर्तन नभएको भनिएको र अर्कोतर्फ केही वस्तुहरू सच्याएर पठाइएको स्वीकार गरिएको जस्ता अभिव्यक्तिले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
उनले संसदको बजेटरी अभ्यास र विशेषाधिकारलाई कमजोर पार्ने गरी आर्थिक विधेयकमा परिवर्तन गरिएको भन्दै त्यसमा 'कुन स्वार्थ समूहको दबाब' रहेको प्रश्न समेत उठाइन्।
अर्यालले अर्थमन्त्रीलाई लक्षित गर्दै करका दर हेरफेर प्रक्रियामा नीतिगत भ्रष्टाचारको संकेत भएको आरोप लगाइन् र त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरिन्।
उनका अनुसार बजेट निर्माण प्रक्रियामा देखिएका विरोधाभास र निर्णयगत अस्पष्टताले सुशासनको आधारभूत एजेन्डा नै कमजोर बनाएको छ।
