काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक विकास मध्यकालमा सुखद लय समात्नसक्ने सम्भावना रहेको उल्लेख गरेको छ।
विस्तारित कर्जा सुविधा सम्झौता अन्तर्गतको अन्तिम समीक्षा प्रतिवेदनमा अहिलेसम्म अपेक्षाभन्दा न्यून वृद्धिदरको चपेटामा परेको अर्थतन्त्रले आगामी तीन वर्षमा भने लय समात्ने पर्याप्त सम्भावना रहेको उल्लेख गरिएको छ।
कोषको यो पछिल्लो प्रतिवेदनमा नेपाली अर्थतन्त्रमा अहिलेसम्म दबाब थुप्रै भएपनि पछिल्लो समयका राजनीतिक तथा केही सुधारका प्रयासले गर्दा लय समात्ने प्रसस्त सम्भावना रहेको उल्लेख गरिएको छ।
यदि कुनै ठुलै संकट नआएको खण्डमा आगामी तीन वर्षमा औसत वृद्धिदरले निरन्तरता पाउने र अन्तिम वर्ष ५ प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ।
चुनावपछि बनेको सरकार र एकल बहुमतको सुविधाजनक अवस्था भएका कारणले नीतिगत निरन्तरता, कोषसँगको सम्झौता अन्तर्गत भएका सुधारका गतिविधिले विस्तारै प्रतिफल हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसका लागि निश्चित सर्त पूरा भने हुनुपर्ने छ। असल शासनको ग्यारेन्टी, पूर्वाधारमा लगानी, पुँजी निर्माणमा व्यापक सहभागीता तथा निजी क्षेत्रको उल्लेख्य सहभागीता हुनुपर्नेछ। यो सबै हुनका लागि अवरोध नरहेको कोषको ठहर छ।
यद्यपि नेपालका पछिल्लो लामो समयको अभ्यासले भने केही जोखिमको निरन्तरता हुने जोखिम भने कायमै छ। नीतिगत खण्डीकरण, पुँजीगत खर्चको न्यूनता तथा कमसल गुणस्तर, बैंकिङ क्षेत्रको खराब कर्जाको खवस्था तथा युवाको पलायन जस्ता आन्तरिक जोखिम र बाह्य जोखिम पनि कायमै रहेका छन्।
