बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

एमसीसीअन्तर्गत ४०० केभी प्रसारण लाइन र दुई सबस्टेसन निर्माण कार्य औपचारिक रूपमा सुरु

बुधबार, जेठ २७ २०८३
एमसीसीअन्तर्गत ४०० केभी प्रसारण लाइन र दुई सबस्टेसन निर्माण कार्य औपचारिक रूपमा सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको मुख्य संरचना निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ।

काठमाडौं- मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको मुख्य संरचना निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। आयोजनाअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेसन तथा कुल २९७ किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको शिलान्यास नुवाकोटको रातमाटेमा गरिएको हो।

संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा अघि बढाइएको यस परियोजनाले नेपालको राष्ट्रिय विद्युत् प्रसारण पूर्वाधार सुदृढ गर्ने, आपूर्ति प्रणालीमा विश्वसनीयता बढाउने तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा योगदान गर्ने लक्ष्य राखेको छ।

शिलान्यास समारोहमा नेपाल सरकारका उच्च अधिकारी, अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण कम्पनीका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ४०० केभी स्तरीय तीन सबस्टेसन र करिब ३१५ किलोमिटर प्रसारण लाइनमध्ये आज मुख्य खण्डहरूको निर्माण प्रारम्भ गरिएको हो। आयोजनाले प्रसारण अवरोध न्यूनीकरण गर्दै उद्योग, घरपरिवार तथा कृषि क्षेत्रका लागि विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

निर्माणाधीन प्रसारण लाइन सञ्जालमा लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा, रातमाटे-न्यू दमौली तथा न्यू दमौली-न्यू बुटवल खण्ड समावेश छन्।

नेपाल सरकारका अर्थ सचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यस परियोजनालाई देशको दीर्घकालीन आर्थिक भविष्यसँग जोडिएको रणनीतिक लगानीका रूपमा व्याख्या गरे। उनले ऊर्जा सुरक्षा, औद्योगिक विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि प्रसारण पूर्वाधार सुदृढीकरण अनिवार्य रहेको बताए।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस परियोजनालाई नेपालको ऊर्जा भविष्यको आधारभूत मेरुदण्ड निर्माणसँग तुलना गर्दै घरपरिवारदेखि उद्योगसम्म निरन्तर विद्युत् आपूर्तिको सुनिश्चितता हुने विश्वास व्यक्त गरे।

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यस लगानीले नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन रूपान्तरणमा योगदान पुर्‍याउने उल्लेख गर्दै क्षेत्रीय ऊर्जा एकीकरणमा समेत सहयोग पुग्ने बताए।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले एमसीसीअन्तर्गतका संरचनाहरू राष्ट्रिय प्रसारण सञ्जालकै अभिन्न हिस्सा भएको स्पष्ट पारे।

एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यसलाई नेपालको ऊर्जा पूर्वाधार विकास यात्रामा ‘कोसेढुंगा’ भन्दै यसले दीर्घकालीन रूपमा ऊर्जा आपूर्तिको स्थायित्व र क्षेत्रीय बजारसँगको पहुँच विस्तार गर्ने बताउँछन।

परियोजनाअन्तर्गत निर्माण कार्य चार निर्माण कम्पनीमार्फत अघि बढाइएको छ। रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले गर्नेछ। त्यस्तै, लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा खण्ड आशिष-बोझ्लर जेभीले, रातमाटे-न्यू दमौली खण्ड एञ्जेलिक-स्किपर जेभीले तथा न्यू दमौली-न्यू बुटवल खण्ड वाइबा-सालसर जेभीले निर्माण गर्नेछन्।

निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सबस्टेसनहरू देशकै सबैभन्दा उच्च क्षमताका सबस्टेसनमध्ये पर्नेछन्। यी पूर्वाधारले राष्ट्रिय विद्युत् प्रणालीलाई थप सुदृढ बनाउँदै दीर्घकालीन ऊर्जा माग व्यवस्थापन र आर्थिक वृद्धिलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

एमसीसी सन् २००४ मा स्थापना भएको अमेरिकी सरकारी सहायता निकाय हो, जसले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा लोकतान्त्रिक मान्यताका मापदण्ड पूरा गर्ने मुलुकहरूमा समयसीमित अनुदानमार्फत विकास परियोजना सञ्चालन गर्दै आएको छ।

त्यस्तै, एमसिए-नेपाल नेपाल सरकारद्वारा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि स्थापना गरिएको सरकारी निकाय हो, जसले परियोजनाको व्यवस्थापन र कार्यान्वयन जिम्मेवारी सम्हाल्दै आएको छ।


प्रकाशित : बुधबार, जेठ २७ २०८३१६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend