कास्की- पोखरा महानगरपालिका-१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ।
आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बीमा गरिदिएको हो।
दैनिक जीविकोपार्जनमै सङ्घर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बीमा सुविधा उपलब्ध गराइएको हो।
वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियानअन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताए।
म्यादी जीवन बीमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक २ सय ५० रुपैयाँ बीमा शुल्कमा एक लाख रुपैयाँसम्म उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले एक लाख ५० हजार रुपैयाँसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ। वडा कार्यालयले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताए। वडाले बीमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बीमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको छ।
सहभागीलाई बीमाले आकस्मिक जोखिम व्यवस्थापन, परिवारको भविष्य सुरक्षा तथा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुर्याउने विषयमा जानकारी दिइएको थियो।
बीमा सेवाबाट वञ्चित समुदायलाई सुरक्षाकवच प्रदान गर्ने भएकाले अन्य वडालाई यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने विश्वास गरिएको वडाध्यक्ष बास्तोला बताए। रासस
