लुम्बिनी- रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ।
सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो।
सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका रु ४१ लाख ३२ हजार २२४ मूल्यबराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
खानतलासी गर्दा २३ लाख ३२ हजार रुपैयाँ बराबरको ५३ बोरा खरबुजाको बीउ, ५ लाख ७० हजार २ सय ४० मूल्य बराबरको ४४ कार्टुन कोलगेट, ११ लाख ३५ हजार मूल्य रुपैयाँ बराबरको २ सय २७ बोरा ओखर, ९५ हजार मूल्यबराबरको ३८ बोरा मकै बरामद गरिएको हो।
प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ। रासस
