काठमाडौं- कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन्।
किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए।
कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उनले बताए।
देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क संकलन गरिएको हो। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ।
