काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआतमा नियन्त्रणमा देखिएको उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) वर्षको अन्त्यतिर आइपुग्दा फेरि तीव्र गतिमा बढ्न थालेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले आर्थिक वर्षको पहिलो १० महिनामा मुद्रास्फीतिको प्रवृत्तिमा स्पष्ट मोड आएको देखाएको छ। वर्षको मध्यतिर ऐतिहासिक रूपमा न्यून तहमा झरेको महँगी पछिल्ला महिनामा लगातार बढ्दै वैशाखमा राष्ट्र बैंकले तय गरेको ५ प्रतिशतको लक्ष्यसमेत पार गरेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा वार्षिक विन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत थियो। त्यसपछि भदौमा ३.२५ प्रतिशत र असोजमा ३.६२ प्रतिशतमा सीमित रह्यो। मूल्यवृद्धिदर नियन्त्रणमा आउँदै गएको संकेत कात्तिकमा झन् स्पष्ट देखियो, जब मुद्रास्फीति २.४२ प्रतिशतमा झर्यो। त्यसपछि मंसिरमा १.६३ प्रतिशत र पुसमा १.११ प्रतिशतमा सीमित भयो। पछिल्ला वर्षहरूमा देखिएको उच्च महँगीको तुलनामा यो निकै न्यून स्तर थियो।
पुससम्म आइपुग्दा खाद्यान्न, आयातित वस्तु तथा केही उपभोग्य सामग्रीको मूल्यमा दबाब कम भएको थियो। भारतमा खाद्यान्न आपूर्ति सहज रहनु, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तुलनात्मक रूपमा स्थिर हुनु तथा नेपाली बजारमा माग पक्ष कमजोर रहनुले मूल्यवृद्धि नियन्त्रणमा सहयोग गरेको विश्लेषण गरिएको थियो।
तर पुसपछि अवस्था क्रमशः बदलिन थाल्यो। माघमा मुद्रास्फीति १.८७ प्रतिशत पुग्यो भने फागुनमा १.४७ प्रतिशत कायम रह्यो। यद्यपि फागुनसम्म मूल्यवृद्धि अझै नियन्त्रणभित्रै रहेको देखिन्थ्यो। तर चैतमा पुग्दा मुद्रास्फीति एक्कासि ४.४७ प्रतिशतमा उक्लियो। त्यसको एक महिनापछि वैशाखमा ५.०४ प्रतिशत पुगेको तथ्यांकले मूल्यवृद्धिको दबाब तीव्र रूपमा बढ्न थालेको संकेत दिएको छ।
पछिल्लो वृद्धि केवल मौसमी कारणले भएको होइन। यसको पछाडि अन्तर्राष्ट्रिय बजारको प्रभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ढुवानी लागतमा वृद्धि तथा केही खाद्य वस्तुको आपूर्तिमा देखिएको दबाब मुख्य कारणका रूपमा देखिएका छन्।
विशेषगरी पश्चिम एसियामा बढ्दो तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि माथि जान थालेको छ। नेपालले सम्पूर्ण पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्यमा हुने परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा नेपाली बजारमा पर्छ। इन्धन महँगिएपछि ढुवानी खर्च बढ्छ, उद्योगहरूको उत्पादन लागत बढ्छ र अन्ततः त्यसको भार उपभोक्ताले बेहोर्नुपर्छ।
आर्थिक वर्षको पहिलो छ महिनासम्म मुद्रास्फीति उल्लेखनीय रूपमा घट्दै गएको देखिए पनि दोस्रो अर्धवार्षिक अवधिमा भने प्रवृत्ति उल्टिएको छ। पुसको १.११ प्रतिशतबाट वैशाखमा ५.०४ प्रतिशत पुग्नुले पाँच महिनामै मुद्रास्फीति करिब पाँच गुणाले बढेको देखाउँछ। यो वृद्धिदरले आगामी महिनाहरूमा पनि महँगी नियन्त्रण राष्ट्र बैंक र सरकार दुवैका लागि चुनौतीपूर्ण बन्न सक्ने संकेत गरेको छ।
यदि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझ बढ्ने क्रम जारी रह्यो, पश्चिम एसियाको तनाव थप चर्कियो वा ढुवानी तथा आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भयो भने नेपालमा मुद्रास्फीति अझ माथि जाने जोखिम रहेको छ।
चालु आर्थिक वर्षमा महिनागत मुद्रास्फीति
| महिना | मुद्रास्फीति (%) |
|---|---|
| साउन | 4.47 |
| भदौ | 3.25 |
| असोज | 3.62 |
| कात्तिक | 2.42 |
| मंसिर | 1.63 |
| पुस | 1.11 |
| माघ | 1.87 |
| फागुन | 1.47 |
| चैत | 4.47 |
| वैशाख | 5.04 |
