काठमाडौं- उडान सेवाबाट अवकाश भएको एटीआर ७२ (एमएसएन-५३५) विमानको फ्युजलेज बुध्द एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ।
हिजो आयोजित त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको ह्यांगरमा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्यका प्रमुख उपरथी अनुप जंग थापालाई हस्तान्तरण गरेका हुन।
उक्त विमानले ७० हजार साईकल पुरा गरेपछि केही महिना अघि नै बुध्द एयरले यसलाई उडान सेवाबाट अवकाश दिएको थियो।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बुध्द एयरका कार्यकारी अध्यक्ष बस्नेतले भने, 'नेपाली सेनाले विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति-सुरक्षा तथा राष्ट्रिय हितका हरेक जिम्मेवारीमा निरन्तर खटिँदै आएको उल्लेख गर्दै, यस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु बुध्द एयरका लागि गर्वको विषय भएको छ।'
बस्नेतले हस्तान्तरण गरिएको विमानको फ्युजलेज, विमानस्थलमा हुनसक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्ध गर्न उपयोगी हुने विश्वास व्यक्त गरे।
उनका अनुसार यो फ्युजलेज नेपाली सेनाले विमानस्थल आपतकालीन योजना अन्तर्गत विभिन्न सतर्कता स्तरका प्रशिक्षणमा प्रभावकारी रुपमा प्रयोग गर्न सकिनेछ।
यसैगरि हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बुध्द एयरले प्रदान गरेको फ्युजलेजले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका थ्रेट सामना गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताए। उनले बुध्द एयरले नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर सुरक्षा सहकार्य गर्दै आएको उल्लेख गर्दै यस कार्यलाई उदाहरणीय पहलका रुपमा प्रशंसा गरेका थिए।
