काठमाडौं- नेपालको प्रमुख निजी पुनर्बीमा कम्पनी हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको वित्तीय अवस्था चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेख्य रूपमा कमजोर बनेको देखिएको छ। कम्पनीका सञ्चालकहरू विभिन्न विवादमा तानिनु, बीमा क्षेत्रको व्यवसायिक गतिविधिमा आएको सुस्तता तथा सरकारले केही बीमा कारोबारमा असार मसान्तसम्म लगाएको रोकको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानी र नाफामा परेको देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ४ करोड ४३ लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा १०४.५४ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ३.३१ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड ९६ लाख ७ हजार ६९० रुपैयाँ पुगेको छ। जुन गत वर्षको सोही अवधिमा ४ अर्ब १८ करोड ९ लाख ९ हजार ११ रुपैयाँ रहेको थियो। व्यवस्थापनका अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्ब ४९ करोड २६ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी भार निकै बढेका कारण वित्तीय अवस्था कमजोर बन्न पुगेको हो। तेस्रो त्रैमाससम्म कम्पनीले ५९.७३ प्रतिशतको वृद्धिसहित ३ अर्ब ५१ करोड ६६ लाख ९२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको सोही अवधिमा २ अर्ब २० करोड १५ लाख ९७ हजार ५७२ रुपैयाँ मात्र थियो। दाबी भुक्तानीमा भएको वृद्धि र कुल खर्चमा भएको ११.७८ प्रतिशतले बढेका कारण कम्पनी नोक्सानीमा गएको देखिन्छ।
कम्पनीको मुख्य वित्तीय सूचकहरू हेर्दा प्रतिसेयर आम्दानी ०.५४ रुपैयाँ ऋणात्मक रहेको छ। मूल्य आम्दानी अनुपात १,३६३.६२ गुणा ऋणात्मक देखिएको छ। त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ १८ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ सय ५७ रुपैयाँ १० पैसा कायम भएको छ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १ करोड ९१ लाख २३ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४९ करोड १६ लाख १३ हजार ९८९ रुपैयाँ सञ्चित छ।
वित्तीय अवस्था खस्किनुको मुख्य कारण गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा भएको क्षेतिको दाबी भुक्तानी र कानूनी कारबाही हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल बीमा प्राधिकरणको संयुक्त अनुसन्धानअनुसार हिमालयन रि-इन्सुरेन्सका पदाधिकारीहरूले सर्वसाधारण लगानीकर्ताको हितविपरीत कम्पनीको अर्बौँ रुपैयाँ फन्ड व्यक्तिगत लाभका लागि अपचलन गरेको पाइएको छ।
बीमा प्राधिकरणको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीले धितोपत्र बजारमा कुल लगानीको अधिकतम १५ प्रतिशत मात्र लगानी गर्न पाउने र कुनै एक कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतको सीमाभित्र मात्र लगानी गर्नुपर्ने व्यवस्था छ। तर हिमालयन रि-इन्स्योरेन्सले प्राधिकरणको पूर्वस्वीकृति बिना नै २४ प्रतिशतभन्दा बढी रकम धितोपत्र बजार र असम्बन्धित व्यक्तिको सेयर कारोबार मिलाउन पेस्कीका रूपमा उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ।
अनुसन्धानका क्रममा भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं.५५) मार्फत हिमालयन रि-इन्स्योरेन्स र सम्बद्ध संस्थाहरूबाट २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ अग्रिम रकम माग गरी दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरको निजी कारोबार मिलाउन प्रयोग गरिएको खुलेको छ। सो रकम धितोपत्रको मूल्य हेरफेर गर्न र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी संस्थालाई हानि पुर्याउन उपयोग गरिएको अभियोग छ।
हिमालयन रि-इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र तिनका सहायक कम्पनीहरू एचएलआई लार्ज क्याप फन्ड, हिमालयन क्यापसर्बसमेतको गरी कुल ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बराबरको फन्ड दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि सेयर खरिदमा प्रयोग गरिएको सीआईबीको निष्कर्ष निकालेको थियो।
सम्पत्ति शुद्धीकरण विभागको निर्देशनसँगै प्राधिकरणले गरेको अनुसन्धान सकिएपछि गत बैशाख २९ गते यस विषयमा नियामकीय कारबाही गर्ने निर्णय गरिएको थियो।
यस अनियमितता र कानून उल्लंघनका कारण नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सको नयाँ पुनर्बीमा कारोबारमा आउँदो असार मसान्तसम्मका लागि पूर्णरोक लगाएको छ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मका लागि नयाँ पुनर्बीमा व्यवसाय गर्न बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाइएको हो। प्रतिबन्ध लागु भएसँगै हिमालयन रिले हालसम्म भइसकेका पुनर्बीमा व्यवसायको पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र त्यसको रेट्रोसेसन गर्ने कार्यबाहेक अन्य कुनै पनि नयाँ व्यवसाय, बीमा स्वीकृत गर्ने वा नयाँ सम्झौता गर्ने कार्यहरू गर्न पाउने छैन।
