सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन, कोरला नाकाबाट भित्रिएका ६४९ विद्युतीय सवारी अनुसन्धानको घेरामा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २६ २०८३
मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन, कोरला नाकाबाट भित्रिएका ६४९ विद्युतीय सवारी अनुसन्धानको घेरामा

नेपाल-चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए।

मुस्ताङ- यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म छ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल-चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व संकलन भएको हो।

नेपाल-चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए।

उनका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी (ईभी) गाडीलगायत चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक सामानलगायत सामानको पैठारीबापत उक्त भन्सार राजस्व संकलन भएको भन्सार प्रमुख चुँडालले उल्लेख गए।

यसैगरी नेपालबाट कोरला नाका हुँदै चीनतर्फ निकासी गरिएका मालवस्तुबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको प्रमुख चूँडालको भनाइ छ। नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादनलगायत सामग्री चीनतर्फ निकासी भएको हो। नेपाल-चीन उत्तरी कोरला नाकाबाट गत भदौदेखि १६ जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।

चीनबाट कोरला नाका हुँदै भन्सार जाँचपास भइ नेपाल भित्रिएका विद्युतीय सवारी (ईभी) गाडीको पैठारीबापत छ अर्ब ७६ करोड दुई लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको हो। पछिल्लो समय गत जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया विवादमा परेको छ। कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भइसकेको जनाइए पनि सरकारले यसलाई अनुसन्धानको घेरामा तानेको हो। 

सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत रहे/नरहेको यकीन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ। उक्त समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सवारीसाधनको अनुगमन गर्ने कार्यसम्पन्न गरिसकेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २६ २०८३१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend