काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल भित्रिनु मुलुकको पर्यटन तथा लगानी क्षेत्रका लागि सकारात्मक उपलब्धि भएको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियट तथा नेपाली साझेदार चौधरी समूहका प्रतिनिधिसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले द रिट्ज-कार्लटनको उपस्थितिले नेपाललाई विश्वका धनाढ्य पर्यटक तथा अर्बपतिहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।
काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्ज–कार्लटन होटल सञ्चालन गर्ने घोषणा भएको दोस्रो दिन भएको उक्त भेटमा अर्थमन्त्रीले नेपालमा व्यवसाय विस्तार गर्ने निर्णयका लागि म्यारियट समूहलाई धन्यवाद दिए।
उनले नयाँ परियोजनाले अन्तर्राष्ट्रिय लगानीकर्तामा उत्साह थपेको उल्लेख गर्दै नेपालमा लगानीको नयाँ सम्भावना खुल्दै गएको बताए।
'तपाईँहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ। नेपालमा लगानी भित्र्याउन र विश्वका धनाढ्यहरूले अब नेपालको द रिट्ज–कार्लटनलाई आफ्नो गन्तव्य बनाउन सक्छन् भन्ने सन्देश गएको छ,' अर्थमन्त्री वाग्लेले भने, 'यसले नेपालको पर्यटन क्षेत्रलाई अर्को उचाइमा पुर्याउन सक्छ।'
नयाँ सरकारले लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले म्यारियट तथा द रिट्ज–कार्लटनलाई काठमाडौँ बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे।
लगानी सुरक्षा, पूर्वाधार विकास तथा कानुनी सहजीकरणमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले भने, 'सरकार तपाईंहरूको लगानी सुरक्षाका लागि प्रतिबद्ध छ। व्यवसाय विस्तारका लागि आवश्यक हवाई तथा स्थलगत पूर्वाधार विकास हाम्रो प्राथमिकतामा छन्। तपाईंहरूले नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्नुहोस्। अब विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल पनि बन्न सक्छ।'
भेटमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले नेपाललाई विश्वस्तरीय हिमाली तथा साहसिक पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न द रिट्ज–कार्लटनले भूमिका खेल्ने बताए।
नेपालमा द रिट्ज–कार्लटनको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भविष्यमा थप लगानी विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
'नेपाल प्रचुर पर्यटन सम्भावना भएको देश हो। विश्वस्तरीय पदयात्रा गन्तव्य र हिमालको देशको रूपमा रहेको पहिचानलाई द रिट्ज–कार्लटनको उपस्थितिले थप मजबुत बनाउनेछ,' उनले भने।
त्यसैगरी, सीजी हस्पिटालिटी होल्डिङ्स तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानीका अवसरहरूले भरिपूर्ण मुलुक रहेको बताए। नयाँ सरकार गठनपछि लगानीकर्तामा उत्साह थपिएको उल्लेख गर्दै उनले लगानी विस्तारका लागि सरकारको साथ र सहयोग अपरिहार्य रहेको धारणा राखे।
भेटमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एसिया–प्रशान्त (चीन बाहेक) का अध्यक्ष राजीव मेनन तथा अर्थमन्त्रीको सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
