काठमाडौं- नेपाल धितोपत्र बोर्ड को कर्मचारी युनियनले बोर्डको व्यवस्थापकीय नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको छ।
युनियनले विज्ञप्ति जारी गर्दै स्थापनाको ३३ वर्ष पूरा गरी ३४ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना हुने भनिएको वार्षिकोत्सव कार्यक्रम व्यवस्थापन पक्षको उदासीनताका कारण इतिहासमै पहिलो पटक स्थगित हुन पुगेको भन्दै असन्तुष्टि जनाएको हो।
कर्मचारी युनियनका अध्यक्ष राजु बहादुर जीसी र सचिव अशोक कुमार बिष्टद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा व्यवस्थापन पक्षको अनुत्तरदायी कार्यशैली, अपरिपक्व र स्वेच्छाचारी निर्णयका कारण समग्र कर्मचारीहरूको मनोबल खस्किएको बताइएको छ।
कर्मचारी वा सरोकारवालाहरूसँग कुनै परामर्श र पूर्वसल्लाह नै नगरी एकाएक कार्यक्रम नगर्ने एकपक्षीय निर्णय गरिएकोमा युनियनले आपत्ति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थतन्त्रको मेरुदण्ड र ऐनाका रूपमा रहेको पुँजीबजारलाई व्यवस्थित र गतिशील बनाउने नियामक निकायको भौतिक तथा व्यवस्थापकीय सुधारका लागि युनियनले निरन्तर रचनात्मक सुझाव दिँदै आएको छ। यद्यपि, वर्तमान उच्च व्यवस्थापकीय नेतृत्व र सञ्चालक बोर्डको अनिर्णयको बन्दी बन्ने प्रवृत्तिका कारण संस्था दिनप्रतिदिन प्रशासनिक र व्यावसायिक रूपमा क्षयीकरण हुँदै गएको हामीले महसुस गरेका छौँ।’
वार्षिकोत्सव केवल उत्सव मात्र नभई नियमक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता र आम लगानीकर्ताहरू भेला भई विगतको समीक्षा र आगामी रणनीतिक मार्गचित्र तय गर्ने महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्दै युनियनले वर्तमान नेतृत्वले संस्थाभित्र कर्पोरेट कल्चर र आन्तरिक सुशासन कायम गर्न नसकेको दाबी गरेको छ।
यसै गरी, युनियनले वर्तमान अनिर्णित उच्च व्यवस्थापनलाई तत्काल आफ्नो पदीय दायित्व र जवाफदेहिता वहन गर्न, संस्थाको साख जोगाउन, तथा रोकिएका नीतिगत र प्रक्रियागत सम्पूर्ण निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ।
साथै, बोर्डमा पूर्णकालीन अध्यक्षको पद करिब २ महिनादेखि रिक्त रहनु आफैँमा दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उक्त नियुक्ति प्रक्रिया अविलम्ब टुङ्गोमा पुर्याई समग्र पुँजी बजारलाई गति प्रदान गर्न कर्मचारी युनियनले नेपाल सरकार समक्ष माग समेत गरेको छ।
