सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

सुनकोशी-मरिन डाइभर्सनको बाँकी कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २५ २०८३
सुनकोशी-मरिन डाइभर्सनको बाँकी कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

सार्वजनिक खरिद अनुगमन कार्यालयले यसअघि डाइभर्सनको ठेक्का पाएको रमण कन्स्ट्रक्सन र भारतको मुम्बईस्थित पटेल इन्जिनियरिङ लिमिटेडलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ।

काठमाडौं- राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ अन्तर्गत बाँकी रहेका निर्माण कार्य सम्पन्न गर्न अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिएको छ।

जलस्रोत तथा सिँचाइ विभागले आज सूचना जारी गर्दै सिन्धुलीको कमलामाई क्षेत्रमा निर्माणाधीन यस आयोजनाको सिभिल संरचना, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा अन्य सम्बन्धित संरचनाहरूको बाँकी कामका लागि प्रस्ताव माग गरेको हो।

आयोजनाअनुसार यसअघि भएको ठेक्का रद्द भएपछि बाँकी काम अघि बढाउन नयाँ बोलपत्र प्रक्रिया सुरु गरिएको हो। यो ठेक्का ‘एकल चरण दुई खाम’ विधिबाट अघि बढाइनेछ, जसअन्तर्गत प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै रूपमा मूल्याङ्कन गरिनेछ। यस प्रक्रियामा नेपाली तथा विदेशी दुवै योग्य निर्माण कम्पनीहरू प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

बोलपत्रमा सहभागी हुन कम्पनीहरूको वित्तीय क्षमता सम्बन्धी कडा सर्त तोकिएको छ। सूचनाअनुसार इच्छुक निर्माण व्यवसायीहरूको पछिल्लो १० वर्षमध्ये उत्कृष्ट तीन वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा ४ करोड २१ लाख ८१ हजार अमेरिकी डलर हुनुपर्नेछ।

सुनकोशी नदीको पानी सुरुङमार्फत मरिन खोलामा खसालेर तराईका जिल्लामा सिँचाइ सुविधा पुर्‍याउने तथा विद्युत उत्पादन गर्ने उद्देश्यसहित अघि बढाइएको यो आयोजना देशकै प्रमुख बहुउद्देश्यीय जलस्रोत परियोजनामध्ये एक हो।

सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइसकेको अवस्थामा अब सिभिल तथा हाइड्रोमेकानिकल संरचना छिटो सम्पन्न गर्न यो ठेक्का प्रक्रिया महत्वपूर्ण मानिएको छ। योग्य इच्छुक कम्पनीहरूले तोकिएको प्रणालीमार्फत वा आयोजनाको कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले यसअघि डाइभर्सनको ठेक्का पाएको रमण कन्स्ट्रक्सन र भारतको मुम्बईस्थित पटेल इन्जिनियरिङ लिमिटेड (संयुक्त उपक्रम) लाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ।

गत जेठ १२ गते कम्पनीका मुख्य व्यक्ति रमण महतो र भारतका रुपिन प्रविणभाइ पटेललाई कालोसूचीमा राखिएको हो। त्यसपछि पुरानो ठेक्का रद्द भएपछि नयाँ बोलपत्र आह्वान गरिएको हो।


प्रकाशित : सोमबार, जेठ २५ २०८३१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend