नेपालगंज- कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले हालसम्म बचतकर्ताको ४७ करोड १४ लाख रुपियाँ निक्षेप फिर्ता गरेको छ।
नेपाल राष्ट्र बैंकबाट गठित कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहले विज्ञप्ति जारी गर्दै हालसम्म ४७ करोड १४ लाख रुपियाँ फिर्ता गरिसकिएको जानकारी दिएको हो।
व्यवस्थापन समूहले निक्षेप अपचलनमा संलग्न व्यक्तिहरुविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाउँदै संस्थाबाट प्रवाहित ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ।
पछिल्ला केही दिनयता बैंक तथा व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका अवाञ्छित गतिविधिप्रति व्यवस्थापन समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामा थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन बचतकर्ता, सेयरधनी तथा अन्य सरोकारवालासँग अनुरोध गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उच्च अदालतमा दर्ता भएको अभियोगपत्र अनुसार २०८१ पुस १० गतेसम्म कर्णाली डेभलपमेन्ट बैंकबाट २ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो अवधिसम्ममा बैंकले ४ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो। बैंकको निष्कृय कर्जा ४१ प्रतिशत छ भने १ अर्ब ७६ करोड १९ लाख रुपैयाँ सञ्चित नोक्सानी रहेको छ।
कुल पुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकमा १ लाखभन्दा माथि निक्षेपकर्ता छन्। बैंकबाट प्रवाह भएको करिब ३ अर्ब रुपैयाँ कर्जामध्ये ४१ प्रतिशत निष्किृय भइसकेको थियो।
यसमा अन्य बैंकबाट नगद ल्याएर बैंकमा दाखिला नगरी भएको नगद अपचलन १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ। जनरल लेजरमा अन्य बैंकमा जम्मा गर्न पठाइएको तर कर्णाली डेभलपमेन्ट बैंकमा दाखिला नगरेको १५ करोड ३० लाख रुपैयाँ रहेको छ।
अन्तर शाखा कारोबारमा भएको अपलचन १ करोड रहेको छ। यसैगरी रेमिट कारोबारका क्रममा भएको अपचलन १ करोड ७८ लाख रहेको छ। गोल्ड लोन दिएको देखाएर भएको अपचलन, तलब वृद्धि गर्दा भएको अपचलन, जीवन बीमाको नाममा भएको अपचलन १ करोड ९६ लाख रुपैयाँ रहेको छ।
एडभान्स टु अदर वर्क शिर्षकमा भएको अपचलन ५१ लाख रुपैयाँ रहेको छ। यसैगरी हदप्रद सेयर लिनका लागि भएको अपचलन ५ करोड ८४ लाख रुपैयाँ रहेको छ। विज्ञापन र प्रवद्र्धनको नाममा भएको अपचलन १८ लाख, गैरकानुनी रुपमा बचत संकलन गरी भएको अपचलन १४ करोड ५७ लाख रुपैयाँ रहेको छ।
ऋण दिई वा पुनः ऋण खडा गरी १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अपचलन भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। कर्मचारी सवारी कर्जा मार्फत भएको अपचलन ७६ लाख रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २०८१ पुस १० गतेको निर्णयअनुसार बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको थियो।
