काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच शनिबार भएको वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिएको छ।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत भेटवार्ताको जानकारी दिँदै द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको बताएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार वार्ताका क्रममा विकास सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी र जनता-जनताबीचको सम्बन्धका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान गरिएको थियो। दुवै मन्त्रीले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि, तालिम र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति जनाएका छन्।
मन्त्रीद्वयले भारत-नेपाल पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा पनि स्वागत गरेका छन्। उक्त सम्झौताले सीमापार अपराधसम्बन्धी अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
द्विपक्षीय वार्तापछि भारतले सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत सम्पन्न ७२ वटा स्वास्थ्य संस्था तथा १२ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना नेपाललाई हस्तान्तरण गरेको छ।
यस्तै, सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउने उद्देश्यसहित भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच पियर-टु-पियर आबद्धताको संयुक्त रूपमा शुभारम्भ गरिएको छ।
डिजिटल सहकार्यअन्तर्गत ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न ‘डिजिटल इन्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालय बीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा पनि दुवै मन्त्री साक्षी बने।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले अजित डोभाल सँग पनि भेटवार्ता गरेका छन्। साथै उनले भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाईवाले सँग समेत छलफल गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकार गठन भएयता परराष्ट्रमन्त्रीस्तरमा भएको यो पहिलो भारत भ्रमण हो। मन्त्रालयले भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय संवादलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई नयाँ ऊर्जा प्रदान गरेको जनाएको छ।
परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत प्रस्थान गरेका थिए भने भ्रमण सम्पन्न गरी जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
