काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले २३ करोड रुपैयाँ बराबरको रकम ३ सय ६६ दिने अवधिका लागि लगानी गर्न लागेको हो।
कुल लगानी योग्य रकममध्ये 'क' वर्गका वाणिज्य बैंकहरूमा १८ करोड ४० लाख रुपैयाँ, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूमा ३ करोड ४५ लाख रुपैयाँ र 'ग' वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा १ करोड १५ लाख रुपैयाँ निक्षेप राख्ने छ।
इच्छुक संस्थाहरूले तोकिएको फारम भरी २०८३ जेठ २२ गते ईमेलमार्फत ब्याजदरको प्रस्ताव बुझाउनुपर्नेछ ।
यस प्रक्रियामा सहभागी हुनका लागि बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्कृय कर्जा ५ प्रतिशत र खुद निष्कृय कर्जा ३ प्रतिशतभन्दा बढी नभएको हुनुपर्ने तथा संस्था शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणामा नपरेको हुनुपर्ने सर्तहरू तोकिएका छन्।
