शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका रहँदैन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका रहँदैन

‘नेपाल र भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो। यस्ता मामिलामा कुनैपनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ।’

काठमाडौं- भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबीचको सीमांकनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए।

प्रवक्ता जयसवालकाअनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका हुन्। यसका साथै सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्शांकन भइरहेको उनले बताए।

नेपालर भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षिय विषय भएकाले कुनैपनि तेस्रो मुलुकको भूमिका नरहने स्पष्ट पारे। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कुटनीतिक पहल भइरहेको र बेलायतलाई पनि यसबारे कुटनीतिक नोट पठाइएको जानकारी दिएका थिए।

नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीहरूबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले भने, ‘नेपाल र भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो। यस्ता मामिलामा कुनैपनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ।’

सीमासम्बन्धी सबै प्राविधिक र कुटनीतिक विषयहरूलाई सम्बोधन गर्नका लागि दुई देशबीच प्रभावकारी द्विपक्षीय संयन्त्रहरू क्रियाशील रहेको उनको भनाइ छ।

दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तरका साथै राजनीतिक दलहरूबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गरे। पछिल्लो समय नेपालबाट भइरहेका उच्चस्तरीय भ्रमणहरू र विभिन्न तहमा भइरहेका भेटवार्ताहरूले आपसी सम्पर्क र सम्बन्धलाई थप सुदृढ बनाइरहेको उनले बताए।  


प्रकाशित : मंगलबार, जेठ १९ २०८३१८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend