काठमाडौं- नेपाल वायुसेवा निगममा नेतृत्व परिवर्तनसँगै आम्दानीमा निरन्तर सुधार देखिन थालेको छ।
निगमले चालु आर्थिक वर्षको १० महिनामा जहाज उडानबाट हुने आम्दानीमा सुधार गरेको छ। निगमले सार्वजनिक गरेको आकाश भैरव रिपोर्टअनुसार जहाज उडाएर गर्ने आम्दानी बढेको हो।
तथापी चैत महिनामा भने गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा जहाज उडानबाट हुने आम्दानी केही घटेको छ। पश्चिम एसियाको द्वन्दका कारण निगमको चैत महिनाको आम्दानीमा केही कमी आएको हो।
गत आवको चैतमा निगमले जहाज उडानबाट १ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर चालु आवको चैतमा भने १ अर्ब ४४ करोड रुपैयाँमात्रै आम्दानी गरेको हो।
चैतमा नेपाल एयरलाइन्सले कतार, साउदी अरब र यूएईमा हुने उडान प्रभावित भएको थियो। निगमका अनुसार बैशाखमा भने गत आवको भन्दा बढी आम्दानी गरेको छ।
चालु आवको बैशाखमा निगमले जहाज उडाएर १ अर्ब ९७ अर्बको आम्दानी गरेको थियो। गत आवको बैशाखमा निगमले जहाज उडाएर १ अर्ब ४३ करोड रुपैयाँमात्रै आम्दानी गरेको छ।
निगमले सार्वजनि गरेको तथ्यांकअनुसार चालु आवको १० महिना निगमले जहाज उडाएर १४ अर्ब ५८ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ।
गत आवको सोही अवधिमा निगमले जम्मा १३ अर्ब १२ करोड१८ लाख रुपैयाँ जहाज उडाएर आम्दानी गरेको थियो। गत आवको तुलनामा १० महिनमा निगमले १ अर्ब ४६ करोड आम्दानी गरेको छ।
१० महिनामा निगमले १० प्रतिशत भन्दा बढीले आम्दानी गरेको हो। युवराज अधिकारी निगम कार्यकारी अध्यक्ष रहँदा लापरबाही र कमिसनतन्त्रका कारण चार वर्षसम्म निरन्तर रुपमा घटिरहेको निगमको आम्दानीमा अहिले उनी बाहिरिएसँगै सुधार देखिएको हो।
२०७८ कात्तिकमा निगम कार्यरकारी अध्यक्षको जिम्मेवारीमा अधिकारीको आगमनसँगै निगमको जहाज उडाएर हुने आम्दानीमा सुधार हुन सकेको थिएन।
