काठमाडौं- सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने मिति सार्वजनिक गरेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने तयारी गरेको हो।
यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको सेयर निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले १७ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।