शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मुग्लिन-पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु, दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १९ २०८३
मुग्लिन-पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु,  दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने

आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्याइएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ।

कास्की- पोखरा र काठमाडौं जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ।

स्तरोन्नतिका क्रममा रहेको सो सडकखण्डमा बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरु गरिएको मुग्लिन-पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

उक्त खण्डमा अहिले स्तरोन्नति अन्तिम चरणमा छ। चार लेनमा सडकमा कालोपत्र सकिएको छ।

'सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा छ, सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट सुरु गरेका छौँ। अडिटका क्रममा सडकको मोड, चोक, पुल, साइनबोर्ड, डिभाइडर, सडकबत्ती, पैदलयात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिनेछ', आयोजना प्रमुख कुँवरले भने।

सरकारको १०० बुँदे कार्ययोजनामा समेत मुग्लिन-पोखरा सडकमा सेफ्टी अडिट गर्ने र यसको प्रतिवेदन अन्य सडकमा समेत लागू गर्ने उल्लेख गरिएको आयोजनाले जनाएको छ। उक्त प्रतिवेदनका आधारमा आवश्यक स्थानमा थप सुरक्षा व्यवस्था, ट्राफिक सङ्केत चिह्न, रेलिङ, गति नियन्त्रण तथा चेतनामूलक व्यवस्था गरिने जनाइएको छ।

मुग्लिन-पोखरा सडक देशकै व्यस्त राजमार्गमध्ये एक मानिन्छ। सडक विस्तारका क्रममा कतिपय स्थानमा निर्माण सामग्री, धुलो तथा अस्थायी संरचनाका कारण यात्री तथा चालकले समस्या भोग्दै आएका छन्। वर्षायाम नजिकिँदै गर्दा पहिरो र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ‘सेफ्टी अडिट’ गर्न लागिएको हो।

मुग्लिन-पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा पाँच वर्षअघि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति पटकपटक म्याद थप हुँदासमेत अझै पूरा हुनसकेको छैन। तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ।

आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्याइएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १९ २०८३११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend