काठमाडौं- पल्सर आरपीएमले जेठ १६ गतेबाट टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई प्रस्तुत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा कलाकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो।
विशेषगरी सहरी युवा संस्कृति र साहसिक खेललाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यस कार्यक्रममा बी-बोइङ,स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्याप ब्याटलजस्ता प्रस्तुतिहरू समावेश थिए।
यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसर पाएका थिए। कार्यक्रममा उपस्थित दर्शकहरूले पनि उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात स्टन्ट राइडर रबिन श्रेष्ठ रहेका थिए। उनले पल्सर एनएस२०० मोटरसाइकलमा सवार हुँदै रोमाञ्चक र साहसिक स्टन्टहरू प्रदर्शन गरेका थिए। उनको उत्कृष्ट नियन्त्रण क्षमता, गति र सन्तुलनले उपस्थित सम्पूर्ण दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। श्रेष्ठको यो साहसिक प्रस्तुतिले कार्यक्रमको रोमान्चलाई थप उचाइमा पुर्याएको थियो।
आयोजकका अनुसार पल्सर आरपीएम टेकओभर केवल एउटा मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको साझा उत्सव हो। पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर सोच्ने 'बियोन्ड बाउन्ड्रीज' संस्कृतिलाई यस कार्यक्रमले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न भएको ‘पल्सर आरपीएम’ ले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागी तथा दर्शकहरूलाई एक अविस्मरणीय अनुभव प्रदान गरेको छ।