काठमाडौं- गण्डकी प्रदेशमा मनाङको नासोँ गाउँपालिका वडा नम्बर ५ मा अस्पताल भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरेका छन्।
भारत सरकारको आर्थिक सहयोग करिब ५ करोड ६० लाख रुपैयाँमा उक्त अस्पताल भवन निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना मनाङको नासोँ गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।
नासोँ गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे र नयाँ संरचनाले नासोँ गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचलाई थप सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।