काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले विदेशी मुद्राको उच्च सञ्चिति प्रभावकारीरूपमा उपयोग गर्न ‘सोभरेन वेल्थ फन्ड’ स्थापना गर्ने अवधारणा अघि सारिएको बताएका छन्।
अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालसँग हाल आवश्यकताभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको उल्लेख गरे।
गभर्नर पौडेलका अनुसार सामान्यत: ७ महिनाको आयात धान्ने विदेशी मुद्रा पर्याप्त मानिए पनि नेपालसँग १८ महिनाभन्दा बढी आयात धान्न सक्ने सञ्चिति रहेको छ तर उक्त सञ्चितिको प्रतिफल करिब ४ प्रतिशत हाराहारीमात्र रहेको उनले बताए।
उनले यस्तो अवस्थामा निष्क्रिय रूपमा राखिएको विदेशी मुद्रा अर्थतन्त्रमा अधिक उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए। त्यसै उद्देश्यका लागि ‘सोभरेन वेल्थ फन्ड’को परिकल्पना गरिएको उनको भनाइ छ।
यस फन्डमार्फत विदेशी मुद्रा सञ्चितिको एक हिस्सा दीर्घकालीन रूपमा प्रतिफल दिने लगानीका क्षेत्रमा परिचालन गरी आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको गभर्नर पौडेलले बताए।
उनका अनुसार परम्परागतरूपमा सञ्चितिमात्र सुरक्षित राख्ने नीति अब पर्याप्त नभइ त्यसलाई रणनीतिक लगानीमा रूपान्तरण गर्ने समय आएको छ।
यस्तै गभर्नर पौडेलले एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) को संरचनाबारे अन्तिम निर्णय भइनसकेको जानकारी पनि दिए। यद्यपि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उनले बताए।