काठमाडौं- भारतीय सवारी उत्पादक टाटा मोटर्सले आफ्नो चर्चित विद्युतीय ह्याचब्याक टियागो ईभीको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ। कम्पनीले भारतीय बजारमा नयाँ टियागो ईभी र आईसी इन्जिनयुक्त नयाँ टियागो सार्वजनिक गरेको हो।
टाटाले भारतीय बजारमा टियागो ईभीको सुरूआती मूल्य ६ लाख ९९ हजार भारु तोकेको छ। टाटाले फेसलिफ्ट टियागो ईभी नयाँ डिजाइन, रिडिजाइन गरिएको डुअल टोन इन्टेरियर, थप विशेषता, सुधारिएको सेफ्टि विशेषतासँग धेरै कुरा अपडेट गरेर टियागो फेसलिफ्ट बजारमा ल्याएको छ।
नयाँ टियागो ईभीमा स्लिक एलईडी हेडल्याम्प, नयाँ एलईडी डीआरएल, क्लोज बडी रंगिन ग्रिलसहित रि डिजाइन गरिएको फ्रन्ट लुक्स छ। पछाडिको भागमा कनेक्टेड एलईडी टेल ल्याम्प र परिमार्जित बम्पर छ। साथै डुअल टोन ब्ल्याक रुफ, सार्क फिन एन्टेना र डोर ह्याण्डलहरूमा क्रोम फिनिस दिएको छ।
टाटाले नयाँ टियागोमा नयाँ डिजाइनको डुअल टोन ड्यासबोर्ड दिएको छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको २६.०३ सेमी एचडीट चस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ४० भन्दा बढी कनेक्टेड कार सुविधाहरू सहितको आईआरए डट ईभी कनेक्टिभिटी र वायरलेस चार्जिङ सुविधा दिएको छ।
साथै प्यासिभ एन्ट्री र प्यासिभ स्टार्ट, पूर्ण रूपमा स्वचालित टेम्पेचर कन्ट्रोलर, रियर एसी भेन्ट, थाइ सपोर्ट अन्तर्गत विस्तारित सिटहरू, स्टोरेजसहितको फेब्रिक टच आर्मरेस्ट, अल डोर सफ्ट टच फेब्रिक आर्मरेस्ट, कुल्ड ग्लोभबक्स, ६५ वाट फ्रन्ट टाइप सी यूएसबी, अटो फोल्ड र इलेक्ट्रिकली एडजस्टेबल ओआरभीएम, क्रूज कन्ट्रोल र फोर स्पिकर सराउन्डलगायत विशेषता टाटाले नयाँ टियागोमा थपेको छ।
टाटाले नयाँ टियागोलाई सुरक्षित बनाउन ब्यापक बदलाब गरेको छ। यसमा ६ वटा एयर ब्याग, ३६० डिग्री एसभीएस एचडी क्यामेरा, ब्लाइण्ड भ्यू मनिटर, ३६० डिग्री इम्प्याक्ट प्रोटेक्सन बडी स्ट्रक्चर, ट्रयाक्सन कन्ट्रोल भएको इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ईबीडी, कर्नर स्टेबिलिटी कन्ट्रोल भएको एबीएस, हिल होल्ड कन्ट्रोल, रेन सेन्स वाइपरहरू, अटोमेटिक हेडल्याम्पहरू, रियर डिफगरलगायत विशेषता राखेको छ।
टाटाले फेसलिफ्ट टियागोमा ब्याट्री भने हालकैलाई निरन्तरता दिएको छ। नयाँ टियागो ईभीमा १९ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री छ। यो ब्याट्रीयुक्त टियागोले रियल वर्ल्डमा क्रमश: १७० र २१५ किमी रेन्ज दिने कम्पनीले जाएको छ। टाटाले सानो ब्याट्री भएकोमा ४५ किलोवाट र ठूलो ब्याट्रीसँग ५५ किलोवाटको मोटर दिएको छ।
नयाँ टियागोले ३० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। जसले ३५ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज हुने दाबी कम्पनीले गरेको छ। भारतीय बजारमा बिहीबार सार्वजनिक भएको टियागो ईभी फेसलिफ्ट एकदेखि दुई महिनाभित्र नेपाली बजारमा आउनेछ।