काठमाडौं- देशभर बीमा कम्पनीहरूको शाखा विस्तारसँगै बीमा व्यवसाय र यसको पहुँचमा सुधार देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण रिपाेर्टअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमासहित नेपालको कुल जनसंख्याको ४९.९ प्रतिशत हिस्सामा जीवन बीमाको पहुँच पुगेको छ। गत असार मसान्तसम्म यस्तो पहुँच ४८.३ प्रतिशतमात्र रहेको थियो।
यो अवधिमा बीमा कम्पनीहरूको शाखा संख्या झन्डै ३ हजार पुगेको छ। २०८२ फागुनसम्म जीवन बीमाका १ हजार ७ सय ७४, निर्जीवन बीमाका १ हजार १६ र लघुबीमाका २ सय ९ गरी कुल शाखा संख्या २ हजार ९ सय ९९ पुगेको छ। गत वर्षको सोही अवधिमा यो संख्या २ हजार ९ सय ९२ रहेको थियो।
त्यसैगरी कुल बीमा शुल्क संकलनमा १६.१ प्रतिशतको वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा १ खर्ब ६० अर्ब २१ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ। यसमध्ये जीवन बीमा शुल्क १ खर्ब २७ अर्ब ६९ करोड ८० लाख रुपैयाँ र निर्जीवन बीमा शुल्क ३२ अर्ब ५२ करोड ८० लाख रुपैयाँ रहेको छ।
हाल जीवन बीमातर्फ १ करोड ६२ लाख ५९ हजार ८ सय ३२ र निर्जीवन बीमातर्फ २१ लाख ६८ हजार ४५ वटा बीमालेख सक्रिय रहेका छन्।
चालु आर्थिक वर्षको फागुनसम्ममा जीवन र निर्जीवन दुवै क्षेत्रबाट गरी कुल ४४ अर्ब १५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ। जीवन बीमातर्फ १ लाख २५ हजार ८ सय ३० वटा बीमा दाबीबापत २६ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भएको छ भने निर्जीवन बीमातर्फ ९४ हजार २ सय १५ वटा बीमा दाबीबापत १७ अर्ब ३१ करोड भुक्तानी भएको छ।
हाल नेपालमा कुल ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्। स्वामित्व संरचनाका आधारमा नेपाली लगानी भएका कम्पनीहरूको हिस्सा सबैभन्दा बढी रहेको छ।
फागुनसम्म जीवन र लघु जीवन बीमातर्फ मात्रै १२ हजार ४ सय ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यस्तै गत वर्षको फागुनसम्मको तथ्यांकअनुसार करिब ४ लाख १२ हजार ४ सय ५२ जना अभिकर्ताहरू अप्रत्यक्ष रोजगारीमा आबद्ध छन्।
बीमा कम्पनीहरूले गर्ने कुल लगानीमा पनि वृद्धि भएको छ। २०८२ पुस मसान्तसम्मको तथ्यांकअनुसार बीमकहरूले कुल ९ खर्ब ६ अर्ब २ करोड रुपैयाँ लगानी गरेका छन्। जसमध्ये जीवन बीमा कम्पनीहरूको लगानी ८ खर्ब २५ अर्ब ५९ करोड र निर्जीवन बीमा कम्पनीहरूको लगानी ८० अर्ब ४२ करोड रुपैयाँ रहेको छ।