काठमाडौं- पछिल्लो समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको सेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ।
साताको अन्तिम कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४.९९ अंकले बढेर २७८२.१० बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबारमा नेप्से ९.२४ अंकले घटेर बन्द भएको थियो। बिहीबार र शुक्रबार २ दिन सार्वजनिक बिदा परेकाले अब सेयर बजार साेमबार मात्रै खुल्ने छ।
नेप्से परिसूचक सँगै काराबारमा पनि घटेको छ। आजको कारोबारमा ३ सय ५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७ सय १२ कित्ता सेयर ६० हजार ५ सय ६२ पटक किनबेच हुँदा ६ अर्ब ३ करोड ७४ हजार ८ सय ४० रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर १४.९८ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ७१ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा ४ उपसमूहको परिसूचक घटेको छ।
११ उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूकको परिसूचक सबैभन्दा धेरै ०.७३ प्रतिशतले बढेको छ।
नयाँ सरकार गठन भएसँगै पुँजी बजारले नयाँ गति लिने आशामा रहेका लगानीकर्ताहरूका लागि आजको सामान्य वृद्धिले थोरै राहत त दिएको छ, तर बजारमा पूर्ण उत्साह भने अझै फर्कन सकेको छैन।
यही हप्ता सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेकाले पनि लगानीकर्ताहरू थप चनाखो बनेका छन्।
सरकारले आगामी बजेटमार्फत सेयर बजारलाई कस्तो प्राथमिकता दिने हो र नीतिगत क्षेत्रमा कस्तो सुधारका कामहरू हुने हुन् भन्ने विषयमा अझै स्पष्टता आउन नसक्दा धेरैजसो लगानीकर्ताहरू आगामी रणनीति तय गर्न अलमलिएका देखिन्छन्।
बजेट आउनुअघिको यो अन्योलताका कारण ठूला र संस्थागत लगानीकर्ताहरू अहिले पनि पर्ख र हेर को रणनीतिमा बस्दा बजारले ठूलो फड्को मार्न नसकेको हो।अहिलेको बजार साना तथा खुद्रा लगानीकर्तामा मात्रै सिमित देखिन्छ।
पुँजी बजार चलायमान हुँदा लगानीकर्ताको आत्मविश्वास बलियो हुने मात्र होइन, समग्र आर्थिक गतिविधिमा समेत उत्साह थपिई बजारमा सकारात्मक सन्देश प्रवाह हुन्छ।