आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ६ अर्ब रुपैयाँ नजिक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ११ २०८३
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ६ अर्ब रुपैयाँ नजिक

नेप्से परिसूचक सँगै काराबारमा पनि सुधार भएको छ। आजको कारोबारमा ३ सय ४२ कम्पनीको  १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ७५ हजार ८ सय ५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको सेयर खरिदबिक्रि भएको थियो।

काठमाडौं- पछिल्लो समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको सेयर बजार परिसूचक नेप्सेमा आज केही सुधार देखिएको छ।

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १६.३८ अंकले बढेर  २७५८.४९  मा पुगेर बन्द भएको थियो।

नेप्से परिसूचक सँगै काराबारमा पनि सुधार भएको छ। आजको कारोबारमा ३ सय ४२ कम्पनीको  १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ७५ हजार ८ सय ५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको सेयर खरिदबिक्रि भएको थियो।

आजको कारोबारमा सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर ९ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ६० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५० प्रतिशत बढेको छ।

त्यस्तै बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार ०.३२ प्रतिशत बढेको छ।

नयाँ सरकार गठन भएसँगै पुँजी बजारले नयाँ गति लिने आशामा रहेका लगानीकर्ताहरूका लागि आजको सामान्य वृद्धिले थोरै राहत त दिएको छ, तर बजारमा पूर्ण उत्साह भने अझै फर्कन सकेको छैन। यही हप्ता सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेकाले पनि लगानीकर्ताहरू थप चनाखो बनेका छन्।

सरकारले आगामी बजेटमार्फत सेयर बजारलाई कस्तो प्राथमिकता दिने हो र नीतिगत क्षेत्रमा कस्तो सुधारका कामहरू हुने हुन् भन्ने विषयमा अझै स्पष्टता आउन नसक्दा धेरैजसो लगानीकर्ताहरू आगामी रणनीति तय गर्न अलमलिएका देखिन्छन्। अन्योलताका कारण ठूला र संस्थागत लगानीकर्ताहरू अहिले पनि पर्ख र हेर को रणनीतिमा बस्दा बजारले ठूलो फड्को मार्न नसकेको हो।अहिलेको बजार साना तथा खुद्रा लगानीकर्तामा मात्रै सिमित देखिन्छ।

पुँजी बजार चलायमान हुँदा लगानीकर्ताको आत्मविश्वास बलियो हुने मात्र होइन, समग्र आर्थिक गतिविधिमा समेत उत्साह थपिई बजारमा सकारात्मक सन्देश प्रवाह हुन्छ।

तर, बजारका केही स्थापित र ठूला लगानीकर्ताहरूको नाम सम्पत्ति शुद्धीकरणको अनुसन्धानसँग जोडिएपछि बजारमा एक किसिमको त्रास र संशय पैदा भएको छ। यसले गर्दा लगानीकर्ताहरू बजेट अगाडि ठूलो रकम बजारमा भित्र्याउन हच्किएका छन्।जसको प्रत्यक्ष असर दैनिक कारोबार रकममा देखिएको छ।

२० कारोबार दिनको तथ्यांक हेर्ने हो भने अहिले २ देखि ५ अर्बको बीचमा कारोबार भएको देखिन्छ। ७० लाख भन्दा धेरै लगानीकर्ता जोडिएको सेयर बजारमा यो कारोबार कम हो।

राज्यले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र आर्थिक अनुशासन स्थापित गर्न कानुनी कारबाही अघि बढाउनु एकदमै आवश्यक र स्वागतयोग्य कदम हो। तर, यस्ता नियामक निकायका कारबाहीहरू सम्पूर्ण निजी क्षेत्र वा समग्र सेयर बजारविरुद्ध नभएर केवल केही गलत अभ्यास गर्ने व्यक्ति वा संस्थाविरुद्ध मात्र लक्षित हुन् भन्ने सन्देश राज्यले स्पष्ट रूपमा प्रवाह गर्न जरुरी देखिन्छ।

यो हप्ता आउने नयाँ बजेटले पुँजी बजारका समस्यालाई सम्बोधन गर्दै लगानीकर्तालाई सुरक्षित वातावरणको ग्यारेन्टी गरेमा मात्र बजारले दिगो रूपमा सकारात्मक लय समात्ने आस लगानीकर्तामा देखिन्छ।


प्रकाशित : सोमबार, जेठ ११ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend