काठमाडौं- कर्णाली जिल्लाको लाशिक्याप-धो सडक खण्डमा नयाँ निर्माण तथा स्तरोन्नति हुने भइको छ। ३७.५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्न १ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
प्रस्तावित लाशिक्याप-धो सडक खण्ड डोल्पा जिल्लाको काईके गाउँपालिका वडा नम्बर ५ लाशिक्यापबाट सुरु भएर डोल्पो बुद्ध गाउँपालिका वडा नम्बरमा पर्ने धोमा गएर अन्त्य हुनेछ।
प्रस्तावित सडक जाजरकोट-दुनै-मरिम-तिन्जे-धो अन्तर्गतको सहायक सडक खण्ड हो। सडक हिमाली भू-भागमा अवस्थित छ सडक खण्ड सामुदायिक वन क्षेत्र (नावरपानी), शे-फोक्सुण्डो मध्यवर्ती क्षेत्र, खोलाहरू (कोलाङचुङ खोला, चुङजुलो खोला, सिसौल खोला र कलाड खोला) हुँदै पुरै खण्ड ठूली भेरी नदीको किनारबाट निर्माण हुनेछ।
विद्यमान सडकको चौडाइ औसत २ मिटर रहेको छ भने अन्य बाँकी सडक माटे सतह रहेको छ।
प्रस्तावित सडक जाजरकोट-दुनै-मरिम-तिन्जे-धो सडक अन्तर्गत लाशिक्याप धो खण्डको २२.७ किलोमिटर लम्बाइ रहेको सडकको नयाँ सडक निर्माण र बाँकी १४.८ किलोमिटर सडकलाई स्तरोन्नति गरिने राय सुझावका लागि वन तथा वातावरण मन्त्राललयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांन रिपोर्टमा उल्लेख छ।
नयाँ तथा स्तरोन्नति गरी सडक २ लेनको बनाइने भएको छ। प्रस्तावित सडक खण्डमा ४ वटा पुल निर्माण हुने छ। सडक खण्डमा १०४ वटा ह्युम पाईप कल्भर्ट, २ वटा स्ल्याब कल्भर्ट र १ बटा कजवे प्रस्ताव गरिएको छ।