सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

शनिबार, जेठ ९ २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राखे।

सिद्धार्थनगर- सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन्।

यहाँ आयोजित ‘भैरहवा सहर : उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए। 

बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राखे। 

होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्षसमेत रहेका उनले आगामी बजेट तथा कार्यक्रममा भैरहवालाई पर्यटकीय सहरका रूपमा प्राथमिकता दिनुपर्ने बताए।

स्थलमार्ग हुँदै तेस्रो मुलुकका सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका भैरहवामै पर्दछ। बेलहिया र भैरहवाबाट नेपालका विभिन्न स्थानमा सिधा बस सेवा सञ्चालन हुँदै आएको छ। सिद्धार्थ यातायात र पश्चिम नेपाल बस समितिले सञ्चालन गरेका सयौँ बसले दैनिक सेवा दिइरहेका छन्।

बहसमा सहभागीहरुले पर्यटकीयस्तरका होटल, स्पा, क्यासिनो, क्लब तथा पर्यटकीय रेष्टुराँ पर्याप्त रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानमा आन्तरिक उडान विस्तार गर्न नगर सरकारले पहल गर्नुपर्ने सुझाव दिएका थिए।

निर्माण व्यवसायी महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले भैरहवालाई सुन्दर र पर्यटकीय सहरका रूपमा विकास गर्न निर्माण व्यवसायीले पूर्ण साथ दिने बताए। उाले निर्माण व्यवसायीले गरेको कामको ठूलो रकम अझै भुक्तानी नपाए पनि भैरहवालाई पर्यटकीय र व्यवस्थित सहर बनाउन सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिमबहादुर खत्रीले भैरहवाको व्यापार र पर्यटनमैत्री वातावरणलाई थप व्यवस्थित बनाउन नगर सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

महिला उद्यमी सलुजा रामदमले भैरहवालाई महिलामैत्री सहरका रूपमा विकास गर्न सके पर्यटन र उद्यमशीलता दुवै क्षेत्र विस्तार हुने धारणा राखे। उनले महिला उद्यमीलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम आवश्यक रहेको बताए। रासस


प्रकाशित : शनिबार, जेठ ९ २०८३१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend